ढुक्क भएर लगानी गर्ने वातावरण बनेको छ– अर्थमन्त्री डा. खतिवडा (भिडियाे सहित)

तस्बिरः बिएल

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजनीतिक स्थायित्व कायम भइसकेकाले ढुक्क भएर लगानी गर्ने वातावरण बनेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघको नाफिज १० औं वार्षिकोत्सव तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशमा वित्तिय क्षेत्रको अवस्था समेत बलियो हुँदै गएको र विकासको बाटोमा अघि बढिसकेको दाबी गरे। अर्थतन्त्रबारे भ्रम फैलाउनेहरु समेत सक्रिय भएको मन्त्री खतिवडाको भनाइ छ।

अर्थमन्त्री खतिवडाले देशले ७ दशमलब १ प्रतिशतले आर्थिक वृद्धि भईरहेको तथा बिमाको पँहुच समेत २५ प्रतिशत पुगिसकेकोले वास्तविकताबारे जानकारी लिन आग्रह गरे। मुलुकको आर्थिक विकासको बाटोमा लागेसँगै सबै स्थानीय तहमा बैंकहरुको शाखा पुगिसकेको तथा औद्योगिक क्षेत्रको विकासले तिव्रता लिएको उनले बताए।

उनले व्यवसायमा भएको करको द्विविधा अन्त्यका लागि समेत मन्त्रालयले काम गरिरहेको जानकारी दिए। कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जित तुलाधरले शेयर बजारमा सकारात्मक परिवर्तन ल्याउने केही काम गर्न अर्थमन्त्रीसँग आग्रह गरे। शेयर लगानीकर्ता दबाव समूहका अध्यक्ष हरि ढकालले बजारलाई बजार बन्न दिन र यसलाई प्राकृतिक रुपमा अघि बढ्न दिन आग्रह गर्दै अर्थ मन्त्रालयले गठन गरेको समितिले दिएका ५८ बुँदै सुझाव कार्यान्वयन गर्न सुझाव दिए।

 

प्रकाशित मिति: : 2019-09-08 14:45:00

प्रतिकृया दिनुहोस्