यस्ता छन् मन्त्रीपरिषद्का निर्णय (भिडियोसहित)

बिएल

सरकारले नेपालका विकास निर्माण र दौत्य सम्बन्ध प्रगाढ बनाउन चीनको सकारात्मक प्रभाव रहेको जनाएको छ। 

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपालले विभिन्न देशसँगको सम्बन्ध थप बलियो बनाइरहेकोले चीन, भारत, अमेरिकासहित सबै मित्रराष्ट्रसँग सकारात्मक प्रभाव बढ्ने बताए। चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले विश्वमा नेपालको प्रभाव पनि बढेको भन्दै मन्त्री बाँस्कोटाले नेपालको सम्बन्ध फैलिँदै गएको बताउनुभयो । फरक प्रसंगमा मन्त्री बाँस्कोटाले विप्लव समूहले वार्ताका लागि सारेका शर्तको कुनै अर्थ नरहेकाले र बिनाशर्त हिंसा छाड्नुपर्ने बताए। उनले अब जाँतो घुमाएको जस्तो कुरा नघुमाउन र संविधानको दायराभित्र रहेर राजनीति गर्न पनि विप्लव समूहलाई आग्रह गरे। विप्लव समूहका सबै क्रियाकलाप राष्ट्रघाती भएकाले चन्दा उठाउन, अपहरण गर्न र मान्छे मार्न पाउनुपर्छ भन्ने माग पूरा गर्न सरकारले कल्पना पनि गर्न नसक्ने उनले बताए।

यस्तै कलाकारिता सभ्य बन्नुपर्छ भन्ने मान्यतामा सरकार रहेकाले उच्छृङखल खालका गीतसंगीतलाई छाडा छाड्न नसकिने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक मूल्य मान्यताभित्र रहेर सबैले आफ्नो पेशा सञ्चालन गर्नुपर्ने बताए।

प्रवक्ता बास्कोटाले सरकारले कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिएको र सहसचिव राममृष्ण सुवेदीलाई सचिवमा बढुवा गरिएको जानकारी दिए । बैठकले सेनाका लेखा उपरथी श्री भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी श्री आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ। काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ भने सुचना महामार्ग निर्माण सम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको प्रवक्ता बास्कोटाले जानकारी दिए।

मन्त्रीपरिषद्ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ भने डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको छ। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको प्रवक्ता बास्काटोले बताए। बैठकले गैर करका दरहरू पुनरावलोकन स्वीकृत गरेको छ।

 

प्रकाशित मिति: : 2019-10-24 18:12:45

प्रतिकृया दिनुहोस्