विराटनगरको राजस्व लक्ष्य भन्दा १४ करोड कम, घरबहालतर्फ ४ करोड ३८ लाख संकलन

बिएल


विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ का लागि निर्धारण गरेको राजस्व कर लक्ष्य भन्दा कम संकलन भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आर्थिक वर्षमा ४० करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको बताएका छन्।

महानगरपालिकाले आर्थिक वर्षमा ५४ करोड रुपैयाँको लक्ष्य राखेको थियो। उठेको रकम महानगरपालिकाले तय गरे भन्दा १४ करोड कम हो ।

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव भन्छन्, ‘महानगरका विभिन्न १९ वटा वडा कार्यालयलाई बजेट विकेन्द्रीकृत गर्दा कम राजस्व असुली भएको हो ।’

उनका अनुसार महानगरपालिकाले सम्पत्ति करतर्फ सर्वाधिक ११ करोड ४८ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

महानगरपालिकाले घरबहाल करतर्फ ४ करोड ३८ लाख, नक्सापास करतर्फ ४ करोड २९ लाख रुपैयाँ, व्यवसाय करतर्फ ३ करोड ५ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी उनले दिए ।

अन्य राजस्वतर्फ ६ करोड ६२ लाख रुपैयाँ, अन्य दस्तुरबाट ३ करोड ७८ लाख रुपैयाँ र सिफारिस दस्तुरबाट १ करोड ७६ लाख रुपैयाँ संकलन भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ७२ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा भने राजस्वतर्फ लक्षित २७ करोड रुपैयाँ नै संकलन भएको महानगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: : 2019-07-18 13:43:48

प्रतिकृया दिनुहोस्