उपनिर्वाचनका लागि मनोनयनपत्रको नमूना सार्वजनिक,प्रमुख दलले अझै उम्मेदवार चयन गर्न सकेनन्

फाइल तस्बिर

निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा बिहीबार आयोगले सार्वजनिक गरेको हो ।

आयोगले जारी गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयनपत्र कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता हुनेछ ।

अहिलेसम्म रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले कास्की–२ प्रतिनिधिसभा सिटका लागि हुने निर्वाचनमा उम्मेदवार चयन गर्नुबाहेक अन्य प्रमुख दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले उम्मेदवार चयन गर्न बाँकी नै छ ।
उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ भक्तपुर–१ (क), बाग्लुङ–२(ख) र दाङ–३ (ख)मा उपनिर्वाचन हुँदैछ ।

स्थानीय तहतर्फ रिक्त सिटमा पनि मंसिर १४ मै उपनिर्वाचन हुने भए पनि उम्मेदवारी दर्तालगायतका निर्वाचन कार्यतालिका भने फरक छ ।

प्रकाशित मिति: : 2019-10-24 12:55:42

प्रतिकृया दिनुहोस्