होटल हयात अनिश्चितकालका लागि बन्द, मजदुर हड्तालमा

तस्बिरः बिएल

काठमाडौं। मजुदर आन्दोलनको कारण देखाउँदै होटल हायात अनिश्चितकालका लागि बन्द भएको छ।

 तारागाउँ रिजेन्सी होटल्स लिमिटेड व्यवस्थापनले अनिश्चितकालका लागि होटल बन्द गराएको एक सूचना प्रकाशित गरि जनाएको छ।

तारागाउँ रिजेन्सी होटलले मजदुर युनियनको हड्तालका कारण हयात होटल बन्द भएको जनाकारी नेपाल स्टक एक्सचेन्जलाई दिएको छ।

हयातले गत जेठ ३० गतेदेखि गैरकानुनी हड्ताल र नाराजुलुसका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारवाही प्रभावित भएर होटल बन्द गर्नु परेको जनाएको हो।

होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ।

होटलले आवश्यक सेवा सुविधा पुर्‍याउन नसक्ने स्थिति भएकाले रिजर्भेसनसमेत बन्द गरिएको जनाएको छ। व्यवस्थापनका अनुसार होटलमा कार्यरत १ देखि ४ तहसम्मका कामदार हड्तालमा उत्रिएका छन्।

सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन्। व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन् ।

मजदूरले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहलले जानकारी दिए।

उनका अनुसार सन् २००६ देखि २०१८ सम्म होटल व्यवस्थापनसँग भएका सामूहिक सम्झौताको पालना नभएको, बीमा कोषको रकम हिनामिना गरिएको तथा वार्षिक ग्रेड सुविधा घटाएकोले मजदूर मर्कामा परेका छन्।

अर्कोतर्फ होटलको उच्च व्यवस्थापनमा आएका पाँच भारतीयले मजदूर तथा कर्मचारीमाथि अभद्र व्यवहार गर्दै आएका छन् । मजदूर कर्मचारी गरी जम्मा ४०० जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आबद्ध सबै ३२० जनाले माग पूरा गराउन दबाबस्वरूप काम अवरोध गरेका हुन्।

मजदूरको मागका सम्बन्धमा व्यवस्थापनसँग वार्ता भए पनि निष्कर्षमा पुग्नसकेको छैन । आन्दोलनका कारण होटलका पाहुनालाई अन्यत्र सारिएको बताइएको छ । हिजो आइतबार दुई पक्षबीच वार्ता भए पनि प्रगति नभएको र आज व्यवस्थापनसँग कुनै कुराकानी नभएको अध्यक्ष दाहालले बताए। वार्ताको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको दुवै पक्षको भनाइ छ ।

 

प्रकाशित मिति: : 2019-06-17 17:50:39

प्रतिकृया दिनुहोस्