अमेरिका र चीनबीच ‘ट्रेड–वार’, अन्तर्राष्ट्रिय मुद्रा कोषको चिन्ता

तस्वीरः एजेन्सी

अमेरिका र चीनबीच बढ्दो ‘ट्रेड–वार’ लाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफएफ) ले चिन्ता व्यक्त गरेको छ। कोषले यी दुई देशबीच उत्पन्न तनाव विश्व अर्थतन्त्रका लागि खतराको घण्टी भएको बताएको छ।

अमेरिकाले केही समयअघि चीनको उत्पादनमा शुल्क बढाउने घोषणा गरेको थियो। जसका कारण यी दुई देशबीच ‘ट्रेड–वार’ सुरु हुने आशंका व्यक्त गरिएको हो।

कोष अध्यक्ष क्रिस्टिन लेगार्डले मंगलबार भनिन्, ‘साच्चै भन्नु पर्दा अमेरिका र चीनबीच बढ्दो तनाव विश्व अर्थतन्त्रका लागि खतरा हो।’

पछिल्लो समय सोशल मिडियामा यी दुई देशबीच देखिएको प्रतिक्रियालाई हेर्दा व्यापार सम्झौता हुने सम्भावना घट्दै गइरहेको आशंका पनि उनले जनाइन्।

यि सबै सम्भावनाका बीच तनाव न्युनिकरणका लागि चीनले शीर्ष व्यापार वार्ताकार तथा उप–प्रधानमन्त्री लियूलाई अमेरिकी भ्रमणमा पठाउदैछ।

लियू आउँदो विहिबार नभए शुक्रबार साताव्यापी भ्रमणका लागि अमेरिका जाँदैछन्। सुरुमा बैठक बुधबारबाट सुरु हुने आशा गरिएको थियो। तर, गत आइतबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्वीट गरेका थिए। यसपछि अमेरिका र चीनबीच वार्ता नै नहुने सम्भावना बढेर गएको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटमा २ सय अर्ब डलर मूल्य बराबर चिनियाँ समानमा शुक्रबारदेखि आयात शुल्क बढाउने घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2019-05-07 17:35:36

प्रतिकृया दिनुहोस्