भारतीय जेट एयरवेजका अन्तर्राष्ट्रिय उडान स्थगित

तस्बिरः एजेन्सी

जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ।

वित्तीय संकट व्यहोरिरहेको भारतीय विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो।

एक सयभन्दा धेरै विमान रहेको जेट एयरवेजले ६ सय आन्तरिक र ३८० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको थियो। भारतीय सिभिल एभिएसन नियमअनुसार अन्तर्राष्ट्रिय उडानका लागि दैनिक कम्तीमा २० जहाज उड्नुपर्छ। जेट एयरवेजसँग अहिले १४ वटा मात्र जहाज छन्।

बिहीबार जेटका १० वटा जहाज ग्राउन्डेड भएका थिए।

यसैबीच भारतीय सरकारले जेट एयरवेजको अन्तर्राष्ट्रिय उडान रद्द भएपछि यात्रुहरूको सुरक्षा र सुविधामा आँच नपुगोस् भनेर आवश्यक कदमहरू चालिने जनाएको छ।

बीबीसीका अनुसारमार्चमा जेट एयरवेज संकटमा परेकालेहजारौँ उडान रद्द भए। तर, त्यतिखेर भारत सरकारले पहल लिँदै सार्वजनिक बैंकहरूलाई उक्त निजी विमानसेवाको उद्धार गरिदिन अनुरोध गरेको थियो।

त्यो एकदमै दुर्लभ पहल थियो। राष्ट्रिय चुनावको मुखमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उक्त विमानसेवा बन्द होस् भन्ने चाहेन किनकी त्यसले करिब २३ हजार जनाको रोजगारी गुम्थ्यो।

विमानसेवाको नेतृत्व लिएका ऋणदाताहरूले नयाँ लगानी नआउञ्जेल सम्हाल्ने वाचा गरेका थिए। तर, पनि अवस्था झनै विग्रियो।

ऋणदाताहरूले पहिले कबुलेको भन्दा निकै कम पैसामात्र उपलब्ध गराए। जसले गर्दा विमानसेवाले विमान भाडामा दिने कम्पनीहरूलाई पैसा तिर्न सकेन। यसको मतलब हो उसै त खुम्चँदै गएको उसको विमान सङ्ख्या थप घट्यो।

अहिले आएर ऋणदाताहरूले सम्भावित लगानीकर्ताहरूका प्रस्ताव स्वीकार गरिरहेका छन्। तर यो प्रक्रिया सकिन केही महिना लाग्नेछ।

ऋणदाताहरुले ऋण नदिँदा जेट एयरवेजले भाडामा लिएका विमानको शुल्क समेत तिर्न नसकेका समाचारहरु यसअघि नै सार्वजनिक भएका थिए । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार हाल यो कम्पनी  १ सय १० करोड अमेरिकी डलर घाटामा रहेको छ ।

जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका हुन्। जेटमा अहिले उनको परिवारको ५२ प्रतिशत सेयर हिस्सा छ। जेटमा कुल २३ हजार कर्मचारी रहेको बिबिसीमा उल्लेख छ।

प्रकाशित मिति: : 2019-04-12 23:32:43

प्रतिकृया दिनुहोस्