सांसद कँडेल भन्छन्- 'म भारतीय हैन, नेपाली'

फाइल तस्बिर

नेपाली काङ्ग्रेसका नेता एवं सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता रहेको भन्ने समाचारको खण्डन गरेका छन् ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी उनले आफ्नो नाममा हालसम्म भारतको नागरिकता नभएको र भारतको कहीँकतै स्थानीय वा आम निर्वाचनमा मतदाता सूचीमा नाम नरहेकोसमेत स्पष्ट पारेका छन् ।

उनले आफ्नो बाल्यकालदेखिको शिक्षा भारतमा भएको र सोही शैक्षिक प्रमाणपत्रको आधारमा नै उहिल्यै नै सवारी चालक अनुमतिपत्र लिएको र उक्त अनुमतिपत्र भने अहिले पनि आफूसँग रहेको बताए ।

नेता कँडेलले भने, “मेरो हजुरआमा स्व राधादेवी राणाशासनविरुद्धमा प्रजातन्त्रका लागि लड्दै आउनुभएको र तत्लकालीन समयमा नेपालमा अध्ययन/अध्यापन सम्भव नभएपछि नेपालको सिमानाबाट २०० मिटर टाढा भारतको सिमानामा २००६ सालमा आफ्नो नाममा विद्यालय स्थापना गरेको हो । उक्त विद्यालयमा स्थापनाकालदेखि नै हाम्रो परिवारबाट व्यवस्थापन समितिको अध्यक्ष निरन्तर रहँदै आएको छ । पारिवारिक संरक्षकको हैसियतमा मेरो हजुरआमा, त्यसपछि मेरो बुबा र हाल म अध्यक्षका रुपमा निरन्तरताको स्वरुप रहँदै आएको छु ।”


कँडेल भारतीय नागरिक भएको र त्यहाँको नागरिकका रुपमा उनले निर्वाचनमा मतदान समेत गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले यसबारे अनुसन्धान गरिरहेको छ।

उनले आफू शान्तिका लागि लडेको तर आफूलाई भारतीय भन्दै आरोपित गरिएको भन्दै दु:ख पनि व्यक्त गरे।

नवलपरासीको रमपुरवा गाविस–६ हाल पालिनन्दन गाउँपालिका–१ मा २०१३ साल चैत ४ गते जन्मिएका कँडेल २०३८ सालमा पहिलोपटक प्रधानपञ्च निर्वाचित भएका थिए। त्यसपछि अर्को एक कार्यकाल पनि उनी प्रधानपञ्चमा निर्वाचित भए।

२०५१ र २०५६ सालमा भएको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट निर्वाचित कँडेल संसदीय दलको सचेतकसमेत भएका व्यक्ति हुन्।

२०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नवलपरासी–२ बाट निर्वाचित कँडेल राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य छन्।

प्रकाशित मिति: : 2019-10-23 21:43:47

प्रतिकृया दिनुहोस्