मेक्सिकोमा २० वटा नयाँ तेलकुवा विकास गरिने

तस्बिरः एजेन्सी

मेक्सिको सरकारले यसै वर्ष मेक्सिको खाडी र त्यस वरपर नयाँ २० वटा तेल खानीको विकास गरिने घोषणा गरेको छ ।

सरकार नियन्त्रित पेट्रोलिओस मेक्सिकानोस (पेमेक्स)का महानिर्देशक ओक्टाभियो रोमेराले १६ वटा तेलकुवा गल्फ अफ मेक्सिकोको तटीय इलाकामा रहने जानकारी दिनुभयो । अरु तीन वटा तेलकुवा टाबास्को र एउटा भेराक्रुजमा रहनेछन् ।

यसै वर्ष सन् २०१९ को अन्त्यसम्ममा तेल उत्खनन् शुरु हुने अपेक्षा गरिएको पेमेक्सले जनाएको छ । आगामी वर्ष सन् २०२० को शुरुआतमा यी तेल खानी पूर्ण रुपमा सञ्चालनमा आउनेछन् ।

नयाँ निर्माण गरिने तेलकुवा सेवा करारमा निजी क्षेत्रलाई दिइने छ । सरकारको उक्त कदमबाट पूर्वाधार निर्माण र ड्रिलिङका कार्यमा निजी क्षेत्रको क्षमता विकास गर्न पनि मद्दत पुग्नेछ, रोमेरोले बताउनुभयो । नयाँ तेल खानी सञ्चालनबाट मुलुकमा तेलको उत्पादनमा राम्रो प्रगति हुने कम्पनीले जनाएको छ ।

विगत १४ वर्षमा मेक्सिकोको तेल उत्पादनमा करिब ४६ प्रतिशतले कमी आएको छ । विश्वमै सबैभन्दा बढी तेल उत्पादन गर्ने राष्ट्रहरुको सूचीमा रहेको मेक्सिकोको उत्पादन क्षमता सबैभन्दा कमजोर अवस्थामा पुगेको पनि पेमेक्सले जनाएको छ ।

प्रकाशित मिति: : 2019-03-20 00:55:52

प्रतिकृया दिनुहोस्