एक अर्कासँग बोल्दैनन् थिए सलमान र आमिर !

तस्बिरः एजेन्सी

सन् १९९४ मा आएको सलमान खान र आमिर खान स्टारर फिल्म ‘अन्दाज अपना अपना’ त्यसबेलाको सुपरहिट फिल्ममा सामेल थियो । राजकुमार सन्तोषी निर्देशित यस फिल्मलाई दर्शकले निकै रुचाएका थिए । सोमबार फिल्मले २५ वर्ष पूरा गरेको छ ।

अहिले ‘अन्दाज अपना अपना’ को सिक्वेललाई लिएर निकै चर्चा भइरहेको छ । केही समय अगाडि राइटर दिलीप शुक्लाले फिल्मको कथामा काम भइरहेको बताएका थिए ।

उनले भनेका छन्, ‘यो फिल्मको कथा मैले लेखिरहेको छु । सिक्वेलको कहानी लेख्नु निकै जटिल काम हो ।’ सिक्वेललाई अघिल्लो फिल्मभन्दा आकर्षित गर्ने प्रयास भइरहेको उनले बताएका छन् ।

यस्तै फिल्मकी लिड एक्ट्रेस रवीना टण्डनले केही आश्चर्यजनक खुलासा गरेकी छन् ।

हिन्दुस्तान टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘मल्टीस्टारर फिल्ममा काम गर्न निकै रमाइलो हुन्छ । फिल्मको छायांकनको बेला कोही कसैले एकअर्कासँग कुरा गरेका थिएनन् । सबैको झगडा चलिरहेको थियो । सलमान खान र आमिर खानले पनि एकअर्कासँग कुरा गरेका थिएनन् । म र करिश्माबीच पनि बोलचाल बन्द थियो । थाहा छैन फिल्म कसरी बन्यो ।’

‘फिल्मको अन्तिम एक सिन छ, जहाँ म र करिश्मा पिलरमा बाँधिएका छौं । त्यसबेला निर्देशन सन्तोषीले जबसम्म तिमीहरु एकअर्कासँग बोल्दैनौ तबसम्म डोरी खोल्दिनँ भनेपछि हामीबीच बोलचाल सुरु भयो’, उनी सम्झन्छिन् । 

प्रकाशित मिति: : 2019-11-07 07:44:52

प्रतिकृया दिनुहोस्