अरुण थापाका सहयोगी संगीतकार विक्रम गुरुङ पलेँटीमा

बिएल

यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ। यसका निम्ति हङकङबाट संगीतकार विक्रम गुरुङ काठमाडौं आइपुगेका छन्।

विक्रम फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा जन्मिएका संगीतकार हुन्। विक्रमका बुवा भारतीय सेनामा भएका कारण उनको बाल्यकाल देहरादुनमा बित्यो।
प्राथमिक तहमा पढ्दै गर्दा स्कुलमा पियानो बजाउँदै बालगीत सिकाएको दृश्यले उनलाई आकर्षित गर्थ्यो।

कक्षा पाँचको अध्ययनपछि विक्रमको परिवार पोखरा फर्कियो र उनी शुरुमा नेपाली आदर्श विद्यालयको नामले चिनिएको गण्डकी बोर्डिङ स्कुलमा भर्ना भए। गण्डकी बोर्डिङ स्कुलमा कक्षा दशसम्म पढेका उनले एसएलसी भने मल्टी पर्पोज राष्ट्रिय विधालयबाट गरे।

विक्रम सानै उमेरदेखि बाजागाजा बिना गुनगुनाएर धुन बुन्ने प्रयास गर्थे।

विक्रमले सृजना गरेका तीनवटा गीत अरुण थापाले गाएका छन्। ती तीनवटै गीतले लोकप्रियतासँगै बौद्धिक जमातको प्रसंसा लुटेको थियो।

‘भुलुँ भलुँ लाग्यो मलाई’, ‘आँखाको निँद खोसी लाने’ र ‘‘कतै टाढा तिमीबाट भुलेँ भने’ ले राम्रो प्रसंसा पाएको थियो।

अरूण र विक्रमको सांगीतिक सहकार्यमा निकै ठूलो सम्भावना रहेको थियो तर त्यो सम्भावनालाई समयले साथ दिएन्। उच्च शिक्षा हासिल गर्न विक्रम काठमाडौं लागे।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा भर्ना भए। अरुण पोखरामै बसे। केही अन्तरालमा अरूण पनि काठमाण्डौ उपत्यका त आए तर पोखराको जस्तो सांगीतिक जमघट भने हुन सकेन। साँगाको प्रहरी विद्यालय हुँदै अध्यापन पेशामा प्रवेश गरेका विक्रमलाई त्यही पेशाले हङकङ पुर्‍यायो।

पलेँटीमा आउने शुक्रबार, शनिबार र आइतबार तीनै क्षण र सांगीतिक यात्राको सम्झना गर्दै आफ्ना गीत प्रस्तुत गर्ने तयारीमा छन् संगीतकार विक्रम गुरुङ । उनलाई महिला गायनतर्फ गायिका मीना निरौलाले साथ दिनेछिन् ।

 

प्रकाशित मिति: : 2019-07-21 21:57:42

प्रतिकृया दिनुहोस्