बुबाका कारण स्टार बनेकी मेलिना राई (भिडियो सहित)

बिएल

नेपाली संगीत क्षेत्रमा स्थापीत गायिका हुन् मेलिना राई । बाल्यकालदेखि नै सांगीतिक यात्रा सुरु गरेकी राई अहिले बजारमा चुनिएकी गायिकामा पर्छिन् । सुमधुर स्वर र काममा लगनशील भएकैले उनलाई अहिले विभिन्न रेकडिङ्ग स्टुडियोमा गीत रेकर्ड गर्न भ्याइनभ्याइ छ ।

१० वर्षकै उमेरमा उनको सांगीतिक यात्रा सुरु भयो । २०४९ सालमा दार्जीलिङ्गमा जन्मेकी राई राम्रो शिक्षा लिन बुबासँगै काठमाडौंमा बस्न थालिन् । काठमाडौं आउँदा उनी १० वर्षकी थिइन् । दिनभर विद्यालय र साँझबिहान घरमा बुबासँग उनी संगीत सिक्न थालिन् ।

बालापनदेखि गीत गाउन थालेकी राईलाई उनका बुबा जिमेश राईले नै संगीत सिकाए । संगीतका प्रशिक्षक भएकाले जिमेशले पनि छोरीलाई सांगीतिक क्षेत्रमा पोख्त बनाउने सोच बनाए ।

‘म अहिले जे छु, त्यो मेरो बाबाले दिनुभएको प्रशिक्षणकै देन हो’ मेलिना राई भन्छिन्,‘उहाँ नभएको भए मेरो बाटो अर्कै हुन्थ्यो होला ।’

नृत्यमा रुचि भए पनि उनको स्वर र संगीत साधनाप्रतिको लगाव देखेर गीत गाउनमै बुबा जिमेशले जोड दिए । ‘बाबाले अरुलाई पनि संगीत सिकाउनुहुन्थ्यो । मलाई पनि सजिलो भयो । हामी काठमाडौं आउने बित्तिकै मेरो विद्यालयबाहेकको समयमा बुबाले संगीत रियाजमै व्यस्त राख्नुभयो’ राई बताउँछिन् ।

दिनभरीको थकान र एकाबिहानै बुबाले बिउझाउँदा संगीत सिक्दासिक्दै पनि निदाउने गरेको उनको अनुभव छ । उनले भनिन्, ‘अहिले सम्झिन्छु, रातीसम्म होमवर्क गर्दै समय जान्थ्यो, बुबाले भने बिहान चार बजे नै उठाउनुहुन्थ्यो । धेरै पटक त रियाज गर्दागर्दै हार्मोनियममै निदाएको छु । उहाँले उठाएर फेरी रियाज गर्न लगाउनुहुन्थो ।’

आधुनिक गीत संगीतमा मेलिनाको नाम अहिले शिखरमा । उत्पादक कम्पनीको रोजाइमा पर्छिन् उनी ।

केही म्युजिक भिडियोमा मोडलिङ्ग पनि गरेकी छन् उनले । तर गायनमै राम्रो भएपछि उनले भिडियोको अभिनयलाई निरन्तरता दिन सकिनन् । पछिल्लो समय निकै व्यस्त रहने गायिका राईका कम्मरमाथि पटुकी, कुटुमा कुटु, नाच फिरीरी, तिमले बाटो फेर्यौ, त्यो मनमा पिरिम नलाउने लगायतका गीत सबैभन्दा बढी चर्चित छन् ।

उनलाई चर्चाको शिखरमा कम्मरमाथि पटुकी, पटुकीमाथि घैंलाले पुर्याएको थियो । त्यही गीतपछि उनलाई सबैले चिन्न थाले । युवा युवतीको रोजाईमा पर्ने गायिका राई विभिन्न कन्सर्टका लागि धेरै देशमा घुमिसकेकी छन् । ‘सुरुवातमा अलि दुःख त गर्नैपर्छ, सबैको मन जित्न सकियो भने गीत र कन्सर्टको अभाव हुँदैन’ उनले अनुभव सुनाइन् । उनले दुई सय बढी गीतमा आवाज दिइसकेकी छन् ।

सँधै अरुका गीत गाउँदै हिड्ने कलाकारको भूमिकाबाट आफ्नो फरक पहिचान बनाउन आगामी दिनमा आफै लय शब्द संकलन गर्ने लक्ष्य लिएको उनी बताउँछिन् । ‘म अब आफ्नै गीत उत्पादन गर्ने सोँचमा छु, कति अरुकै गाएर हिड्नु ? केही मात्रै भए पनि आफ्नै लय शब्दमा गीत तयार गर्ने योजना बनाइरहेकी छु’ उनले भनिन्, ‘अहिले चलेको ट्रेन्डभन्दा केही फरक तरिकाले दर्शक स्रोतालाई पस्किने प्रयास गर्दैछु ।’

बिवाह कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नमा २७ वर्षीया गायीका राईले आफू अहिले करिअर बनाउनमै व्यस्त रहेकाले बिवाहका लागि तत्काल केही नसोचेको बताइन् ।

प्रकाशित मिति: : 2019-07-09 10:18:15

प्रतिकृया दिनुहोस्