जन्मदिनमा रणवीरको नयाँ अवतार

Agency

बलिउड स्टार रणवीर सिंह शनिवार ३४ वर्षमा प्रवेश गरेका छन्। उनले आफ्नो जन्मदिनमा आगामी फिल्म ८३ को नयाँ लुक सार्वजनिक गरेका छन्। सन् १९८३ मा विश्व कप जितेको भारतीय टोलीका कप्तान कपील देवको जीवनीमा आधारित यो फिल्ममा कपीलको भूमिका रणवीर गरिरहेका छन्। यही फिल्मको सुटिङका लागि रणवीर केही समयअगाडि इंग्ल्यान्डमा सुरु भएको विश्व कपमा पुगेका थिए।

उनले सार्वजनिक गरेको नयाँ लुकमा उनी ८३ को कपील जस्तै देखिएका छन्।

रणवीरले इन्स्टाग्राममा सार्वजनिक गरेको फोटोसँगै उनले लेखेका छन्, ‘मेरो विशेष दिनमा सार्वजनिक गर्दैछु हरियाणाका तुफान कपील देव।’

उनले आफ्नो नयाँ फोटो फिल्मका निर्देशक कबीर खान, श्रीमति दीपिका पादुकोणसमेत पुरै टिमलाई ट्याग गरेका छन्।

रणवीर कपील देवको भूमिकालाई न्याय गर्न अहिले अधिक समय कपीलसँगै बिताउने गरेका छन्। उनी कपील देवको पुरानो अन्तर्वार्ता, उनको बोल्ने र हिड्ने तरिकाको कपी सिकिरहेका छन्।

फिल्ममा दीपिकाको पनि भूमिका छ। उनी कपीलको श्रीमतिको भूमिका निर्वाह गर्दैछिन्। फिल्म अघिल्लो १० अप्रिलमा रिलिज हुनेछ। फिल्म रिलिजको समय दुई पल्ट सारिएको छ। हाल इंग्ल्यान्डमा जारी विश्व कपको समय पारेर पहिले यो फिल्म रिलिज गर्ने भनिएको थियो।

रणवीरको जन्मदिन र नयाँ लुकको विषयमा अन्य कलाकारले राम्रो प्रतिक्रिया दिएका छन्।

 

 

प्रकाशित मिति: : 2019-07-06 18:55:38

प्रतिकृया दिनुहोस्