नुसरत जहाँकाे फतवा जारी गर्ने मुस्लिम स‌गठनलाइ कडा जवाफ

तस्बिरः एजेन्सी

अभिनेत्रीबाट नेता बनेकी तृणमूल कंग्रेसकी सभासद् नुसरत जहाँले आफूमाथि फतवा जारी गर्ने मुस्लिम संगठनलाई दहाे जवाफ दिएकी छिन्।

पश्चिम बंगालको बहिरहाट लोकसभा सिटबाट चुनाव जित्दै नुसरत दिल्ली पुगेकी थिइन। जहाँ उनले सिन्दुर र साडी तथा मंगलसुत्र लगाएर संसद सदस्यको सपथ लिएको विषयमा मुस्लिम कट्टरपन्थीहरूले फतवा जारी गरेका थिए।

नुसरतले चुनाव जितेपछि हिन्दु ब्यापारी निखिल जैनसँग विवाह गरेकी थिइन। विवाहका कारण उनले संसद सदस्यको सपथ ढिलो गरी लिएकी थिइन।

उनी लोकसभा भवनभित्र प्रवेश गर्दा हिन्दु रितिरिवाजमा गएको भन्दै मुस्लिम संगठनहरूले प्रश्न उठाएका थिए। यसपछि उनीविरूद्ध फतवा जारी भएको थियो।
मुस्लिम धर्मगुरुका अनुसार इस्लाममा सिन्दुर र मंगलसुत्रको प्रयोगलाई वर्जित गरिएको छ।

कट्टरपन्थीहरूको भनाई बाहिरिए लगत्तै नुसरतले ट्वीट गर्दै भनिन्, ‘म संयुक्त भारतको प्रतिनिधि हूँ, जो धर्म र जातिभन्दा माथि हुन्छ। कट्टरपन्थीको भनाईलाई महत्व दिनु भनेको घृणा र हिंसालाई जन्म दिनु हो। इतिहासले प्रमाणित गरिसकेको छ।’

उनले आफू मुस्लिम भएको र रहिरहने बताइन्। ‘म के लगाउँछु, त्यो मेरो अधिकार भित्रको कुरा हो। यसमा कसैले प्रतिक्रिया दिइरहनु पर्दैन। आस्थाको अर्थ विश्वास हो’, उनले भनिन्।

मुस्लिम धर्मगुरुहरूले नुसरतको जैन धर्मालम्बीसँग विवाह गर्ने निर्णयमाथि नै प्रश्न उठाएका थिए। र, उनीहरूले गैर मुस्लिमसँग विवाह गरेर नुसरतले इस्लामको अनादार गरेको आरोप लगाएका थिए।

 

प्रकाशित मिति: : 2019-07-01 18:02:48

प्रतिकृया दिनुहोस्