गार्मेन्ट उद्योग–सिनेमा र विद्यालय

reditt

करिश्माको जीवन संघर्ष

आज एसईईको नतिजा प्रकाशित हुने भएपछि परीक्षामा सहभागी देशभरीका विद्यार्थीहरू आफ्नो नतिजा के हुने हो भन्ने जिज्ञासाका साथ पर्खेर बसेका छन् । माध्यमिक तहको फलामे ढोकाका रूपमा लिइने एसईईको रिजल्टपछि नै उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्छ । सबैको चासोको रुपमा हेरिने एसईई नतिजा यसपटक भने झन् रोचक बनेको छ ।

सबै विद्यार्थीका बीच नायिका करिश्मा मानन्धरलाई पनि यसपटकको एसईईले छोएको छ । जीन्दगीको उत्तराद्र्धतिर अध्ययन सुरु गरेकी नायिका मानन्धर पनि एसईई परीक्षामा उपस्थित भएकी थिइन। नतिजाको चासो उनलाई मात्र होइन, उनलाई मनपराउने समर्थकहरूलाई पनि छ।

कुनै बेला फिल्मी क्षेत्रमा ‘नम्बर एक’ को शिखर चुमेकी करिश्माको पढाईमा भने कति नम्बर आउँछ, यति बेला देश र विदेशमा रहेका उनका समर्थक पर्खेर बसेका छन् ।

उनी ४९ वर्षकी भइन् । आफ्नो छोरी उमेरका विद्यार्थीसँगै स्कुल पुगेर अध्ययन गरेकी कश्मिाको जाँगर देख्दा जो कोही उनको फ्यान नहुने कुरै भएन।

त्यसैले आज सार्वजनिक हुने एसईईको नतिजामा अन्य विद्यार्थीको तुलनामा उनको परिणाम कस्तो आउने हो? यो सबैका लागि कौतुहलको विषय बनेको छ ।

सन् १९७२ फेब्रुअरी ४ मा झरुवाराशी ललितपुरमा जन्मेकी थिइन, करिश्मा। आमा कोमल र बुवा क्षेत्रबहादुर केसीको जेठो सन्तानका रुपमा जन्मिएकी करिश्माको बाल्यकाल बानेश्वरको थापा गाउँमा बितेको थियो।

आर्थिक रुपमा परिवार सामान्य भएकाले घरखर्च जोहो गर्नकै लागि उनले सानै उमेरमा गार्मेन्ट उद्योगमा काम गरेकी थिइन। अहिले खुशीयाली र ‘हाइक्लास’को जीवन बिताउने करिश्माको बाल्यकाल भने अभाव र कष्टमा बित्यो ।

रुपमा असाध्यै राम्री भएकाले गार्मेन्ट उद्योगमा कामका लागि आउने सबैले उनको अनुहारको तारिफ गर्थे ।

‘गरिब परिवारमा जन्मेकोले विद्यालय जानुको सट्टा उद्योगमा काम गर्न सुरु गरेँ’ उनले विगत सम्झँदै भनिन्, ‘म अहिलेको जस्तो बन्छु भन्ने सपनामा पनि सोचेको थिइन, तर कारखानाका सबैले मलाई हिरोइन बन्छस् भन्दै फुर्काउँथे ।’

उद्योगमा काम गर्दै गर्दा फिल्म निर्देशक प्रकाश थापासँग उनको चिनजान भयो । नायिकको खोजीमा रहेका निर्देशकले त्यति राम्री सुन्दरी देखेपछि फिल्ममा खेल्नका लागि प्रस्ताव राखे ।
दुईछाक जुटाउन धौ–धौ पर्ने करिश्माले फिल्ममा नै अफर पाएपछि नकार्ने कुरा पनि भएन।

‘राम्री भए पनि परिवार गरिब भएकाले फिल्मक्षेत्रमा काम गर्नु सपना जस्तै थियो’ उनले भनिन्, ‘ निर्देशक प्रकाशको अफर पनि सुरुमा पत्याउनै मुस्किल भयो। पछि उहाँले अवसर दिनु’भो। त्यसपछि मेरो जन्दगीको यात्रा नयाँ मोडबाट सुरु भयो।’

करिश्माले अभिनय गरेको पहिलो नेपाली चलचित्र सन्तान हो । विद्यालय र घरको कामले फुर्सद नहुने करिश्मालाई अभिनय भनेको कस्तो हुन्छ भन्ने थाहा पनि थिएन ।

एकैपटक आएको त्यति ठूलो अफर नकार्न पनि सकिनन् । तर पहिलो फिल्ममा काम गर्न धेरै दुःख गर्नु परेको उनी बताउँछिन् । फिल्मी क्षेत्रमा त्यसताका प्रकाश थापा कहलिएका निर्देशक थिए। उनीसँग काम गर्नु जो सुकैको हिम्मत हुन्थेन् ।

‘उहाँसँग काम गर्नु मेरा लागि अवसर र चुनौती दुवै थियो । तर अप्ठ्यारो भए पनि उहाँले देखाएको बाटोमा हिँडेर सफल भएँ । सादा जीवनबाट सेलीब्रेटी बनाउन उहाँकै फिल्मले अवसर दियो’ करिश्मा बताउँछिन् ।

कहिलेकाँही त अभिनय गर्न नआउँदा पिटाई पनि खानुपरेको उनी सम्झिन्छिन् । करिश्मा भन्छिन्, ‘मलाई अहिले पनि त्यो कुरा सम्झ्यो भने हाँसो लाग्छ तर त्यतिबेला दुःख मानेर निस्केको भए म अहिलेको स्थानसम्म पुग्न सक्थिन् ।’

पहिलो फिल्म सन्तान राम्रै चल्यो । वर्षमा सिमित मात्रामा फिल्म रिलिज हुने भएकाले पनि दर्शकको खडेरी परेन् । तर उनलाई अभिनय कत्ति पनि आउँथेन् । सुन्दरताकै कारण उनले सुरुवातमै अवसर पाइन् । ‘दर्शकले पहिलो चलचित्र मात्रै होइन, करिश्मालाई पनि मन पराए, गरिबीको खाडलबाट उस्किन त्यो अवसरले मलाई ठूलो सहयोग ग¥यो’ विगत सम्झिन्छिन् उनी ।

फिल्ममा अवसर मात्रै होइन क्षमता पनि आवश्यक पर्छ । त्यसैले उनी भारतको मुम्बई पुगिन्, मधुमति नृत्य तथा अभिनय प्रशिक्षण केन्द्रमा । त्यहाँ पनि सिक्ने क्रममा फिल्ममा अभियन गर्ने मौका पाइन् । तर उनले नेपाली फिल्म क्षेत्रमा नै आफ्नो भविष्य बनाउने अठोट गरिन् र नेपालमै फर्किइन् ।

केही गर्छु भनेर मनदेखि नै अठोट लियो भने सफल भइने रहेछ । हरेक मानिससँग केही न केही क्षमता अवश्य हुन्छ । करिश्माले पनि आफ्नो क्षमतालाई आएको अवसरसँग सदुपयोग गरेर सफल भइन् । फिल्म क्षेत्रमा उत्कृष्ट नायिकाका रुपमा स्थापीत करिश्माको जीवनको भोगाईले संघर्ष नै सफलताको अचुक सुत्र हो भन्ने सिकाउँछ ।

फिल्मी क्षेत्रमा जमेकी करिश्माको स्न १९९१ मा फिल्म निर्माता बिनोद मानन्धरसँग बिवाह गरिन्। र, केसीबाट मानन्धर बनिन् ।

नाम फेरिएन् थर फेरियो, प्रगति गर्दै जाँदा सफर फेरियो, सफलताको शिखर चुमिरहने क्रममा चाहना फेरियो, अनि रहर फेरियो ।

बिवाह लगत्तै उनी आमा बनिन् । पहिलो सन्तानका रुपमा कविता जन्मिँदा जीवनमा पहिलो पटक सबैभन्दा खुशी भएको बताउँछिन् उनी। ‘मेरो सबैभन्दा खुशीको पल नै त्यही थियो, जेठो सन्तानका रुपमा छोरी कविताको जन्म भयो’ करिश्मा भन्छिन् । 

उनले नेपाली फिल्म क्षेत्रमा सफल र उत्कृष्ट फिल्म दिएकी छन् । सफल र धेरै रुचाइएका फिल्ममध्ये सन्तान, पापी मान्छे, मनमा मायाँ, मनकामना, ट्रकड्राइभर आदि हुन् ।

फिल्मक्षेत्रमा केही सफलता हात पारेपछि निर्माणतिर पनि हात हाल्ने सबै कलाकारहरुको लहर नै छ । यस्तैमा करिश्माले पनि फिल्म निर्माण गर्न थालिन् । उनले निर्माण गरेको पहिलो फिल्म थियो, ढुकढुकी । यो फिल्मले सोचेअनुसारको व्यापार गर्न सकेन । पहिलो फिल्म नै ‘फ्लप’ भएपछि उनले दोस्रो बनाइन् । तर दोस्रोले आफ्नो लगानी पनि उठाउन सकेन । लगातार दुई फिल्म ‘फ्लप’ बनेपछि निराश हुँदै अमेरिका हानिइन् ।

केही समय अमेरिकामा बसेपनि नेपालको जस्तो माहोल नभएपछि पुनः नेपालमै फर्किइन् । ‘अमेरिका सपनाको सहर हो, त्यहाँ नेपालमा जस्तो हुँदैन । केहि समय रहर मेट्न बसे पनि आफ्नो ठाउँजस्तो मन कहाँ हुँदोरहेछ र ?’ उनले भनिन् ।

काम गर्दै जाँदा केही न केही सिकाई र भोगाई अवश्य हुन्छ । ‘मैले एउटा कार्यक्रममा बोल्दा एउटा शब्दमा मिस्टेक भएको रहेछ, त्यहि कुरालाई ठूलो बनाएर विवादमा तानियो । म पनि कति कुराहरु सिक्दैछु,’ बुढेसकालमा एसईईको परीक्षा दिनुको गुत्थी सुल्झाउँदै उनले भनिन्, ‘अहिले पढ्नुपर्छ भन्ने लाग्यो । छोरीको उमेरका बच्चाहरुसँग बसेर पढ्न थालेँ। मलाई स्कुल ड्रेस निकै सुहाँउछ । उमेरमा पढ्न नपाएर के भो ? अहिले रहर पुरा गरिरहेको छु ।’

उनको भनाई छ, अध्ययन र सिकाईमा उमेरको सीमा हुँदैन । मौका पाएपछि सुरु गरिहाल्नुपर्छ ।

‘अहिले एसईई रिजल्टको पर्खाइमा छु,’ छुट्टिने बेला उनले भनिन्।

केही समय राजनीतिमा लागेर खुबै चर्चा बटुलेकी करिश्मालाई यतिबेला राजनीतिभन्दा पनि विद्यावारिधि गर्ने इच्छा जागेको छ। उनको उनको यो सपनामा कुनै बाधा नआओस् । सफलताको कामना ।

प्रकाशित मिति: : 2019-06-27 10:59:59

प्रतिकृया दिनुहोस्