२०२० सालमा कोलकातामा पहिलो गीत रेकर्ड गराउँदा

बिएल

नेपालका चर्चित गायक प्रेमध्वज प्रधानको जीवनी बीएलमा (भाग–५)

२०१८ सालमा प्रेमध्वजको आवाज एक्कासि बिग्रियो। उनको ‘भोकल कोड’ को पोलिपमा बायाँतिर सानो डल्लो देखा पर्यो। 

चिकित्सकहरूले उनलाई उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ अस्पताल जाने सल्लाह दिए।

उनी अफिसमा छुट्टी मागेर लामो समयका लागि दिल्ली लागे। ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ मा उपचार गराउने क्रममा उनको स्वास्थ्यमा लाभ भयो।

उनी यसपछि नेपाल फर्किने क्रममा पटना विमानस्थलमा प्लेन कुरेर बसेका थिए। त्यतिबेला काठमाडौंबाट पटनासम्म प्लेन जाने गर्दथ्यो।

उनी विमानस्थलमा प्लेन कुरेर बसिरहेको बेला अर्को रमाइलो घटना भयो। काठमाडौंबाट आएको प्लेनबाट नारायणगोपाल, शिवशंकर, तारादेवी, ज्ञानबहादुरलगायत १०–१२ जना नेपाली कलाकार निस्किरहेका।

नारायणगोपाललाई उनले सोधेछन्, ‘कहाँ जान लागेको?’

नारायणको उत्तर सुनेपछि उनी दंग परे। उनी सम्झन्छन्, ‘उसले मलाई कोलकातामा नेपाली गीत रेकर्ड गर्न जान लागेको बतायो। उसको कुरा सुनेर मेरो मुटु चस्स घोच्यो।’

प्रेमध्वजको मुटु त्यतिबेला चस्स घोच्नुको पनि कारण छ। उनी २००९ सालदेखि रेडियो नेपालमा गीत गाइरहेका थिए। तर, अझसम्म एउटा गीत रेकर्ड गर्न सकेका थिएनन्। उनीभन्दा धेरै पछि रेडियो नेपालमा आएका नारायणगोपाल गीत रेकर्ड गर्न जाँदै थिए।

‘सांगीतिक क्षेत्रमा करिब १० वर्ष लागिसक्दा पनि मैले आफ्नो एउटै गीत रेकर्ड गर्न सकेको थिइन,’ उनी भन्छन्।

नेपाल फर्किएपछि प्रेमध्वजले आफ्नो पीडा आमालाई सुनाए।

गीत रेकर्ड गर्ने उनको सपना २०२० सालमा गएर पुरा भयो। त्यो पनि अर्का ‘भेट्रान’ गायक धर्मराज थापाका कारण।

धर्मराजले नै पे्रमध्वजलाई गीत रेकर्ड गर्ने सुझाव दिएका थिए। उनले कोलकातामा गीत रेकर्ड गराउने ठाउँ आफूले चिनेको भन्दै प्रेमध्वजलाई सुझाव दिएका थिए।

‘मलाई अहिले पनि याद छ। उहाँले भन्नु भएको थियो–एउटा कपीमा एउटा मात्र डब हुन्छ। एउटा गीत डब गर्न दुई सयवटा कपी किन्नै पर्छ,’ प्रेमध्वज भन्छन्, ‘चार वटा गीत डब गर्न आठ सय रुपैयाँ लाग्ने जानकारी पनि उहाँले दिनुभएको थियो।’

धर्मराजको कुरा सुनेपछि प्रेमध्वज भारतीय आठ सय रुपैयाँ जोगाड गर्दै कोलकाता हानिएका थिए।

उनले कोलकातामा ‘गोरेटो त्यो गाउँको’, ‘माया नमार मायालु’, ‘तिमी आए मेरो दिलमा गीत गाइदिऊँला’ र ‘रुक या नरुक तिम्रो खुसी’ गीत डब गराएका थिए।

यसपछि त उनलाई चस्कै लाग्यो। २०२३ सालमा रेडियो नेपालमा रेकर्ड मेसिन नभित्रिँदासम्म उनी आफ्नो गीत डब गराउन हरेक वर्ष भारत पुग्थे।

याे पनि :

जब ६ बर्षको उमेरमा बुवा र आमाको पारपाचुके भयो

प्रेमध्वजको सानोको नाम थियो गणेशध्वज, हेडसरले जुराए अर्को नाम

प्रेमध्वजको करकापले नारायणगोपालले एसएलसीको परीक्षा दिए

आमालाई सघाउन प्रेमध्वजले १२ रुपैयाँमा ट्युसन पढाए

प्रकाशित मिति: : 2019-06-26 15:06:30

प्रतिकृया दिनुहोस्