सन्नीले खोले रहस्य–१६ वर्षदेखि शाहरुखसँग बोलेका छैनन्

तस्बिरः एजेन्सी

अभिनेताबाट नेता बनेका सन्नी देवलले १६ वर्षदेखि बलिउडका स्टार शाहरुख खानसँग कुराकानी नभएको खुलासा गरेका छन्।

उनले हालै एउटा टेलिभिजन कार्यक्रममा यसको खुलासा गरेका हुन्। सन्नी र शाहरुखले सन् १९९३ मा यश चोपडा निर्देशित फिल्म ‘डर’ मा सँगै काम गरेका थिए। यी दुई कलाकारबीच ‘कोल्ड वार’ को खबर बेला–बेलामा सार्वजनिक हुने गरेको छ।

शाहरुखकै कारण सन्नीले ‘डर’ पछि यश चोपडासँग फिल्ममा काम नगरेको समाचार पनि बाहिरिएको थियो। ‘डर’ फिल्मको सुटिङको विषयमा जानकारी दिँदै उनले भने, ‘फिल्ममा मेरो भूमिका कमान्डोको थियो। एउटा दृश्यमा शाहरुखले मलाई चक्कु हान्नुपर्ने थियो। म यति फिट थिए। मलाई लाग्थ्यो, उनले कसरी मलाई चक्कु हान्न सक्छन्? यो दृश्य नै मलाई मन परेको थिएन।’

उनले यश चोपडा आफ्नो पनि अग्रज भएको कारण आफूले त्यो दृश्य अस्विकार गर्न नसकेको बताए। तर, रिसको झोकमा एकजनाको खल्तीमा आफ्नो हात छिराउँदा उसको खल्ती नै च्यातिएको प्रसंग बताउँदै उनले भने, ‘थाहा छैन किन शाहरुखसँग १६ वर्षदेखि बोलीचाली भएन्।’

उनले आफू अन्य कलाकारजस्तै धेरै घुलमिल नहुने र राती पार्टीमा पनि नजाने कारण बोलीचाली नभएको हुन सक्ने बताए।

प्रकाशित मिति: : 2019-06-18 13:54:58

प्रतिकृया दिनुहोस्