क्षमायाचना गर्दै छुटे प्रकाश : अब रंगशाला बनाउन फर्कने पालो धुर्मुस-सुन्तलीको

कहिले फर्कने होलान्- धुर्मुस-सुन्तली ? पर्खिरहेको छ चितवन ! तस्बिर सौजन्य : सीताराम कट्टेल ।

धुर्मुस-सुन्तली क्रिकेट रंगशाला 'तारबार काण्ड' को  घटनाक्रमले नयाँ मोडमा लिएको छ।

धुर्मुस-सुन्तलीले चितवनको भरतपुरमा बनाउने भनिएको क्रिकेट रंगशालाको तारबारमा डोजर लगाउने मुख्य आरोपी प्रकाश कंडेल छुटेका छन् । उनीसँगै भैरव बास्ताकोटी, सुरेन्द्र बि.क. र धुव्र चापागाई पनि रिहा भएका छन् । 

स्थानीय समयअनुसार आइतबार राति करीव १०.३० बजे उनीहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रदेश सभाका सांसद विजय सुवेदीको रोहबरमा छोडिएको हो । सामाजिक सञ्जाल र युट्युवमा भाइरल भएको यस प्रकरणमा कंडेलसहित १८ जना स्थानीयवासीयलाई पक्राउ गरिएको थियो । १४ जना भने यसअघि नै छोडिएका थिए । 

उनीहरूले क्षमायाचना गर्ने र भत्काएको बार पुर्ननिर्माण गर्ने बताएपछि १२ दिनसम्मको दैनिक हाजिरी जमानीमा छाडिएको चितवन प्रशासनले जनाएको छ । 

यसैबीच रिहाइ भएका चारै जनाले एक संयुक्त प्रेस विज्ञप्ती जारी गरी जेठ १५ गते विहान डोजर लगाएर बार भत्काएकोमा दुःख व्यक्त गर्दै भत्काएको बारलाई पुर्ननिर्माण गरी रंंगशालालाई हस्तान्तरण गर्ने बताएका छन् ।

उनीहरूले  धुर्मुस- सुन्तलीलाई रंगशाला बनाउने कार्य अगाडि बढाउन आव्हान पनि गरेका छन् ।

तारबार भत्काएपछि निर्माण कार्य नै छोडेर हिडेका धुर्मुस सुन्तली फर्कन्छन् कि फर्कदैनन् ? सबैको ध्यान त्यतैतिर केन्द्रित छ ।

प्रकाशित मिति: : 2019-06-10 05:48:41

प्रतिकृया दिनुहोस्