प्रितम र आयुशले 'सारेगमप लिटल च्याम्प्स' नजिते पनि करोडौंको मन जिते

नेपालका प्रितम आचार्य र आयुश केसी भारतीय टेलिभिजन च्यानल जीटीभीको यो सिजनको ‘सारेगमप लिटल च्याम्प’ नजिते पनि करोडौं संगीतप्रेमीको मन जितेका छन् । आइतबार भएको फाइनलमा प्रितम आचार्य तेस्रो र आयुश के सी चौथों भए । मुम्बईकी सुगन्धा दाते  ‘सारेगमप लिटल च्याम्प’ भइन् भने राजस्थानको मोहमद फैज उपविजेता बने । 

भारतीय टेलिभिजन च्यानल जीटीभीको यस सिजनको वाल-गायन रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’मा नेपालका दुई वालप्रतिभा प्रितम आचार्य र आयुश केसीले उपाधिको सशक्त दावेदारी प्रस्तुत गरेका थिए । त्यसमा पनि प्रितम आचार्यको विजेता हुने सम्भावना धेरै देखिएको थियो ।

उनले सेमिफाइनलमा प्रस्तुत गरेको गीतलाई सारगेमकै मास्टर पिस भन्दै जज र जुरी सबैले प्रशंसा गरेका थिए। उनले आफ्नो चुलबुले चरित्रभन्दा फरक गम्भीर गीत गाएर सबैको मन जितेका थिए। 

आयुषको नाम भने छ जना फाइनल प्रतिस्पर्धीमध्ये अन्तिममा बोलाइयो।उनले पनि सेमिफाइनलमा दमदार प्रस्तुति दिएका थिए। 

फाइनलमा प्रितम र आयुससँगै मोहम्मद फैज, आस्था दाश, अनुष्का पात्रा र सुगन्धा दाते पुगेका थिए । यी सबै प्रतिभाहरू एक से एक भएकाले जो कोही पनि विजेता हुने हैसियत राख्थे ।

प्रितम आचार्यको चञ्चलता र आयुशको निश्चलताले सारेगमको मञ्चमा नेपालको शान बढेको थि यो। त्यहाँ उनीहरूलाई हरेकले नेपालबाट आएका प्रतिभाका रूपमा इज्जत दिएका थिए । उनीहरूले पनि नेपाली शान र मानमा कुनै कमी हुन दिएनन्। उनीहरूले कार्यक्रमका अतिथि, जज र जुरीसहित भारतीय सेलिब्रिटीहरूको पनि मन जितेका थिए ।

 सिन्धुपाल्चोकका आयुष केसी भक्तपुर ठिमीमा बस्छन्। उनी १२ वर्षका हुन् । उता, ११ वर्षीय प्रितम इटहरीका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति: : 2019-06-10 00:01:25

प्रतिकृया दिनुहोस्