सलमानको योजना– बिहे नगरी बुवा बन्ने!

तस्वीरः एजेन्सी

दबंग स्टार सलमान खान जुन मञ्चमा पुग्छन्, त्यहाँ उनलाई सोधिने एउटै प्रश्न हो–‘बिहे कहिले गर्दै हुनुहुन्छ?’ अब यो प्रश्नबाट सलमानले केही राहत पाउने सम्भावना बढेको छ।

भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ को दावी मान्ने हो भने सलमान बिहे नगर्दै बुवा बन्ने तरखरमा छन्। बलिउडका अन्य कलाकार झैं सलमानले सरोगेसीमार्फत बुवा बन्ने योजना बनाएको अखबारले दावी गरेको छ।

सलमानको निकट श्रोत भनेर उल्लेख गर्दै पत्रिकाले बलिउडका चर्चित निर्माता–निर्देशक करन जोहर र कलाकार तुषार कपुरको बाटो ‘भाइजान’ ले अपनाउन लागेको बताएको छ। सलमानले आफूसँग जोडिएर आएको पछिल्लो समाचारमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

बलिउडका लागि सरोगेसी अनौठो विषय होइन। यसअघि थुप्रै कलाकार सरोगेसीमार्फत बुवा–आमा भइसकेका छन्। यसमा दुई खान– शाहरुख र आमिर पनि समावेश छन्।

शाहरुख र उनको श्रीमति गौरी खानले सन् २०१३ को मे २७ मा सरोगेसीमार्फत अबरामलाई घर भित्र्याएका थिए। उनीहरूको यसअघि दुई सन्तान सुहाना र आर्यनको जन्म भइसकेको थियो।

आमिर र उनको श्रीमति किरन रावले पनि सन् २०११ को डिसेम्बर ५ मा आजाद नामको छोरालाई सरोगेसीमार्फत घर भित्र्याएका थिए।

निर्माता–निर्देशक एकता कपुरले पनि ७ वर्ष लामो प्रतिक्षापछि यसै वर्षको जनवरीमा सरोगेसीमार्फत छोरा रभी कपुरलाई घर भित्र्याएकी थिइन्।

तुषारको पनि लक्ष्य नाम गरेका छोरा छन्। उनलाई २०१६ को जुनमा तुषारले घर भित्र्याएका थिए। करनको यश र रुची नाम गरेका दुई सन्तान छन्। गत वर्षको फेब्रुअरीमा सरोगेसीको सहयोगले नै यी बच्चाहरू करनको घरमा भित्रिएका हुन्।

सलमानकै भाई सोहिल र उनको श्रीमति सीमाले पनि सरोगेसीमार्फत दोस्रो बच्चा योहानलाई सन् २०११ को जुनमा घर भित्र्याएका थिए।

प्रकाशित मिति: : 2019-05-10 16:53:10

प्रतिकृया दिनुहोस्