आयोजक नेपाललाई ऐतिहासिक ५१ स्वर्ण पदक दिलाउँदै दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण मंगलबार सम्पन्न भएको छ। एउटा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना र यसमा स्वदेशी खेलाडीले प्राप्त गरेको अभूतपूर्व उपलब्धि दुबै भएको छ।
आफ्नै भूमिमा आयोजित खेल मेलामा नेपालले गर्व गर्न लायक प्रदर्शन गर्यो। ठूलो आलोचनाको मौका दिएन। दुई सातासम्म करिब ५ हजार विदेशी पाहुनाको सुरक्षा–व्यवस्थापन र भब्य उद्घाटन तथा समापन समारोह आयोजना त्यति सजिलो थिएन।
दुई पटक मिति सारिसकिएको साग तेस्रोपटक घोषित मितिमा सम्पन्न हुन सक्नेमा अन्योल थियो। नियमित कार्यतालिकाअनुसार १३ औं साग सन् २०१८ मै नेपालले आयोजना गर्नुपर्नेमा भूकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा सम्भव भएन र २०१९ को मार्चमा गर्न मिति तोकियो। तर, सो मितिमा पनि सम्भव नभएपछि १–१० डिसेम्बरका लागि सारिएको थियो। अन्तिम समयसम्म पनि पूर्वाधारहरु लठिबभद्र अवस्थामा थिए। व्यवस्थापकीय तयारी पनि सुस्त थियो।
उद्घाटनको दुई दिन अघिसम्म दशरथ रंगशालाको प्याराफिटमा छानो हालिएको थिएन। खेल हुनु अघिल्लो दिन दिनसम्म पौडी पोखरीमा पानी थिएन। पोखरा रंगशालाको अवस्था उस्तै थियो। यता काठमाडौंमा सागको उद्घाटन भइसक्दा पनि पोखरामा काम चलिरहेको थियो। पौडी पोखरीमा निर्माण कार्य जारी थियो।
भाग्यले साथ दियो भनौं या हतारको काम लतरपतर भयो भनौं, अन्तिम समयमा जिम्मेवार व्यक्ति र निकायले जतोतसो काम पुरा गरे। यसैगरी, पौडीपोखरी पनि हिटिङ सिस्टमसहितको अन्तर्राष्ट्रियस्तरको बन्यो।
नेपालकी कीर्तिमानी पौडिवाज गौरिका सिंहले यही पौडी पोखरीमा चार स्वर्ण, २ रजत र ३ काँस्यसहित सर्वाधिक ९ पदक जितिन्। त्यस्तै दुई सन्तानकी आमा आयशा शाक्यले तेक्वान्दोका दुई स्वर्ण जितिन्। १२ औं सागमा फाइनलमा राम्रो गर्दागर्दै स्वर्ण पदक गुमाउनुको पीडा सबैका बीच उनी यो पटक क्यारोगी (फाइट) छाडेर पुम्सेमा आएकी थिइन्। सागमा पहिलो पटक समावेश भएको पुम्सेमा उनले महिला एकल तर्फ ३० वर्षमाथि र टिम गरी दुई स्पर्धामा भाग लिएकी थिइन्।
एकलमा भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीहरुले उनलाई पछ्याए पनि भेट्टाउन सकेनन् र आयशाले स्वर्ण पक्का गरिन्। त्यसपछि टिमतर्फ आयशाले र संजीवकुमार ओझासँग मिलेर स्वर्ण जितिन्।
यस्तै करातेका मण्डेकाजी श्रेष्ठले पनि सागमा दुई स्वर्ण दिलाए। मण्डेकाजीले नेपालका लागि करातेबाट पहिलो स्वर्ण पदक प्राप्त गरेका थिए। पुरुष एकल कातामा मण्डेकाजीले फाइनलमा पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरे। टिम कातामा पनि उनले स्वर्ण पदक जिते।
यता गल्फर सुवास तामाङले पनि दोहोरो स्वर्ण जिते। उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन्। सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण थियो। पुरूष समूहगततर्फ शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङको समूहले स्वर्ण जिते।
उनीहरु मात्रै होइन नेपालका अन्य ४६ खेलाडीसहित फुरूष फुटबलले पनि स्वर्ण जित्यो। कुनै बेला राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालले यो सागमा ५० वटा स्वर्ण ल्याउँछ भनेर गरेको दाबी अन्ततः सत्य भयो। र उनले गरेको दावीभन्दा एक स्वर्ण पनि बढी आयो।
नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक जित्यो। सन् १९९८ मा नेपालमा भएको ८ औं सागपछि नेपाल १३ औं सागमा दोस्रो स्थान हासिल गर्न सफल भयो। ८ औं सागमा दोस्रो हुँदा नेपालले ३१ स्वर्ण जितेको थियो। तर, यो पटक सोचेको भन्दा बढी उपलब्धि हासिल गरेको भएर होला प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने खेलाडीलाई सम्मान गर्ने भन्दै बालुवाटार बोलाए।
मंगलाबार साँझ डायलासिसका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहर कार्डियो गएका प्रधानमन्त्री ओली मंगलार राति नै बालुवाटार फर्किए। प्रधानमन्त्रीले खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो सवा २ बजेपछि कार्यक्रम गरेर ‘सरप्राइज’ प्याकेज को घोषणा गर्दै प्रतियोगितामा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र काँस्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरे।
टिम खेलमा स्वर्ण ल्याउने खेलाडीलाई भने जनही ५ लाखले सम्मान गरिने उनले बताए। यो नगद सम्मान अघिल्लो सागमा सरकारले गरेको सम्मान भन्दा ठूलो थियो। अघिल्लो सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो। प्रधामन्त्रीले रकम बढाए।
प्रधानमन्त्री ओलीले एकपछि अर्को पुरस्कार रकम घोषणा गर्दा खेलाडीहरु निकै खुसी देखिन्थे। उनीहरुले समर्थनमा हुटिङ गर्दै जोडजोडले ताली बजाए। खेलाडीहरु खुसी हुनु यो स्वाभाविक पनि हो, किनकि नेपाली खेलकुदमा राज्यको तर्फबाट घोषणा भएको यो नै अहिलेसम्मको सर्वाधिक नगद पुरस्कार हो।
पुरस्कार रकममा बाझियो मत
बालुवाटारमा गरेको घोषणा अनुसार सागका पदक विजेतालाई दिने रकमबारे सरकारी अधिकारीहरु नै अस्पष्ट देखिए। व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा भए पनि दुई वा दुईभन्दा बढी पदक विजेतालाई दिने रकममा मिडियाहरु र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा एकातिर भए भने खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा अर्कातिर भए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बिएल नेपाली सेवासँग कुरा गर्दै दुई वा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीले प्रत्येक पदकको ११ लाख रुपैयाँ पाउने बताए। ‘दुई भन्दा धेरै जित्नेले प्रत्येक स्वर्णको ११ लाख पाउने हो। ४ स्वर्ण, २ रजत र ३ कास्यसमेत गरी गौरिका सिंहले मात्रै ६५ लाख पाउनेछिन्,’थापाले भने।
यता तेक्वान्दोमा २ स्वर्ण जितेकी आयशा शाक्य, कराते पुरुषतर्फको एकल काता र टिम इभेन्टमा स्वर्ण जितेका मण्डेकाजी र गल्फको व्यक्तिगत र टिम इभेन्टमा स्वर्ण जितेका सुवासले समान २२/२२ लाख पाउने थापाले बताए।
तर खेलकुदमन्त्री विश्वकर्मा भने सल्लाहकार थापाले गलत बुझेको बताए। ‘दुई वा त्यसभन्दा बढी स्वर्ण जित्नेले स्वर्णको जम्मा ११ लाख पाउने हो,’ उनले भने। ‘प्रधानमन्त्रीज्यूले घोषणा गर्दा म पनि त्यहीँ थिएँ, त्यति धेरै रकम राज्यले धान्न सक्दैन,’ उनले भने, मैले बुझेको चाहिँ प्रति स्वर्ण ९ लाख, एक भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख दिने भनेको हो। गौरिकाले ११ लाख पाउने हुन्,’ मन्त्री विश्वकर्माले भने।
प्रधानमन्त्रीको सम्बोधनलाई एकभन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले पाउने अर्थका रुपमा बुझिएको विषयमा प्रश्न गर्दा उनले त्यसबारे थाहा नभएको बताए।
टिम इभेन्टका पदक विजेता निराश
प्रधानमन्त्री ओलीले एकपछि अर्को पुरस्कार रकम घोषणा गर्दा खेलाडीहरु निकै खुसी देखिन्थे। उनीहरुले समर्थनमा हुटिङ गर्दै जोडजोडले ताली बजाए। खेलाडीहरु खुसी हुनु यो स्वाभाविक पनि हो, किनकि नेपाली खेलकुदमा राज्यको तर्फबाट घोषणा भएको यो नै अहिलेसम्मको सर्वाधिक नगद पुरस्कार हो।
तर ठूलै उत्साह बोकेर बालुवाटार पुगेका टिम इभेन्टमा रजत र कास्य पदक जितेका खेलाडी भने निराश बने। व्यक्तिगत र टिम इभेन्टमा खेल्ने खेलाडीमा फरक छुट्याएकोमा खेलाडीहरुले निराशा व्यक्त गरेका हुन्। ‘इभेन्टमा कुनै एक जनाले खेल्न पाएन भने बेन्चमा पनि बस्नुपर्छ। टिममा पर्न धेरै महिनेत गरेका हुन्छौं। तर, खेलकुदमा लागेको व्यक्तिले यो विषयमा सोचेनन्’, राष्ट्रिय फुटबल टोलीका कप्तान सुजल श्रेष्ठले गुनासो गरे।
घोषित पुरस्कारअनुसार फुटबल टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पाउनेछन्। व्यक्तिगततर्फ स्वर्ण जित्दा पाउने पुरस्कार ४ लाख रुपैयाँ बढ्दा फुटबलमा बढेन। १२ औं सागमा स्वर्ण जित्दा पनि फुटबल खेलाडीले जनही ५–५ लाख रुपैयाँ नै पाएको उनले सुनाए।
यता रजत जितेका महिला फुटबल टोली र कास्य जितेको दुबै क्रिकेट टोलीलाई भने कति रकम दिने कुनै जानकारी समेत दिइएन।
खेलाडीमाथि प्रधानमन्त्रीको भद्दा मजाक
प्रधानमन्त्रीको पद आफैंमा एक मर्यादित पद हो। तर उनले त्यो पदको मर्यादाको पालाना भने गर्न सकेनन्। उनले सबै खेलाडीमाथि भद्दा मजाक गरे। ‘पहिला हामीसँग ५० वटा खेल खेल्ने हैसियत पनि थिएन। उनले भने अहिले ५१ वटा त स्वर्ण पदक नै जितेका छौ।’ प्रधानमन्त्री ओलीले यो प्रगतिलाई असाधारण प्रगति भन्दै यसमा सवै खुसी हुनुपर्ने र सिंगो देश नै खुसी रहेको पनि बताए।
‘गौरिका एक्लैले चार वटा स्वर्ण जितेर नेपालको गौरव बढाएकी छन्। आधा आकासले पनि हरेक काम गर्न सक्छ भन्ने उनले प्रमाणित गरेकी छन्।’ उनले भने, ‘मण्डेकाजी, सुवास, आयशालाई पनि डबल स्वर्णपदक प्राप्त गरेकाले कठिनाइसँग जुध्न सक्ने खेलाडीको प्रशंसा गर्न चाहन्छु।’
तर प्रशंसासँगै प्रधामन्त्रीको मजाक सुरु भयो। ‘अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ। रजतमा चित्त बुझाउनुपर्छ। तर, रजत केही उत्कृष्ट विना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै हो। रजत पदक प्राप्त गर्नेलाई बधाई। कास्य पदक पनि स्वर्ण पदक जस्तै हो। मात्रै दुई जना बढ्ता जान्ने भएर निस्के ती दुई वटालाई हराइदिन पाएको भए हुन्थ्यो। अर्को पटक दुईवटालाई मौका दिनेछैनौं,’ उनले भने।
उनी यतिमै रोकिएनन् आफू पनि खेलाडी भएको दाबीसमेत गर्न भ्याए। ‘म गौरिकालाई बताउन चाहन्छु–म पनि एउटा स्वीमर हुँ। म पनि ठूल्ठूला बगेका खोलाहरूमा तरिदिन्थेँ,’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रो समयमा स्विमिङ पुल चाहिँदैनथ्यो। खोलासँग राम्रो जानपहिचान भइसक्याथ्यो त्यसकारण बगाउँदैनथ्यो। धेरैपल्ट म बग्दाबग्दै बगाउनबाट जोगिएको छु किनभने पौडी खेल्न जानेको र सिकेको हुनाले।’
सम्बोधनको अन्त्यमा उनले खेलाडीसँग ‘चिया नास्ता खानुभयो?’ भनेर ठट्टा गरे। उनले फेरि अर्का सागमा काँस्य पदक विजेता खेलाडीलाई तीन लाख माथिको पुरस्कार दिइने बताए। उनी त्यतिको मजाकमा मात्रै रोकिएनन्। उनले अर्को पटक पनि यस्ता प्रतियोगिताका उद्घाटन र समापन समारोह उत्सव छोटा बनाउन सुझाव पनि दिए।