चिनियाँ राष्ट्रपतिको भ्रमण अवधिमा रिङरोड भित्र मालबाहक गाडीमा रोक

तस्बिरः बिएल

चिनीयाँ राष्ट्रपतिको भ्रमणलाई ध्यानमा राखि उपत्यकाको रिङरोड भित्र ठूला मालबहाक गाडी चलाउन रोक लगाइएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चिनीयाँ राष्ट्रपति सिको नेपाल भ्रमणलाई ध्यानमा राखी शनिबार र आईतबार ठूला मालबाहक सवारी साधन रिङरोड भित्र नछिराउन आग्रह गरेको छ।

त्यसैगरी राष्ट्रपति सिको सवारी रूट प्रयोग नगरी बैकल्पिक मार्ग अपनाउनसमेत आग्रह गरेको छ।

राष्ट्रपति सिको सवारी हुने विमानस्थलदेखि तिनकुने नयाँ बानेश्वर, माईतीघर, त्रिपुरेश्वर, कालीमाटीहुँदै होटल सोल्टीसम्म रहेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने बेला रूटमा पर्ने बाटो सर्वसाधारणका लागि बन्द गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले चिनियाँ राष्ट्रपति सी हिँड्ने बेला त्यो रूट पूर्ण रूपमा ठप्प गरिने जानकारी दिए।

तिब्बती शरणार्थी तथा केही मानवअधिकारवादीले प्रदर्शनको तयारीको सूचना पाएपछि शनिबार र आइतबार चिनियाँ दूतावास र कन्सुलर अफिसअगाडिको सडकमा आवतजावत रोकेको छ। यस क्षेत्रमा चल्ने सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा विरोध प्रदर्शन गर्न सक्ने आशंकामा प्रहरीले तिब्बती शरणार्थीसहित २० जनालाई नियन्त्रणमा राखेको छ ।

अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सी करिब ९० जना प्रतिनिधिमण्डलसहित आउँदै छन् । राष्ट्रपतिसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का दुई पोलिटब्युरो सदस्य, विदेशमन्त्री वाङ यी तथा सिपिसी तिब्बतका सेक्रेटरीसहितका उच्च अधिकारी प्रतिनिधिमण्डलमा सामेल हुनेछन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सांसद तथा उच्चपदस्थ कर्मचारीले स्वागत गर्ने कार्यक्रम छ ।

यसैबीच शनिबार विमानस्थल साढे २ घण्टासम्म बन्द हुने विमानस्थल कार्यालयले जनाइसकेको छ। शनिबार दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गर्न कार्यालयले आदेश दिएको छ।

आइतबारै दिउँसो १ बजे सीको चीन फर्किने उडान छ। आइतबार पनि बिहान ११:२० देखि १:५० सम्म विमानस्थल बन्द हुनेछ।

विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त अवधिमा काठमाडौं विमानस्थलमा कुनै पनि उडान हुने छैन। यसैअनुसार एयरलाइन्सहरूले उडान तालिका हेरफेर गर्नुपर्नेछ।

उडान तथा अवतरणमा न्यून असर परोस् भनेर विमानस्थल २४ घण्टा खुला राखिने विमानस्थल कार्यालयले सूचनामा उल्लेख गरेको छ।

सिको भ्रमणलाई लक्षित गरी सरकारले आईतबार सार्वजनिक बिदासमेत दिएको छ।

यस्तो छ सीको भ्रमण तालिका

शनिबार

  • १७:०० बजे– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
  • विमानस्थलमै सैनिक सलामी अर्पण
  • सी सोल्टी होटल प्रस्थान
  • १८ बजे– राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
  • १८:३० बजे– राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
  • १९:१५ बजे– प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
  • १९:३० बजे– राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

आइतबार

  • १०:३० बजे– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता
  • ११:३० बजे– प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
  • १३: ०० बजे– स्वदेश फिर्ता
प्रकाशित मिति: : 2019-10-12 08:52:53

प्रतिकृया दिनुहोस्