कुवेतविरुद्ध गोल हानेर रातारात स्टार भएका वाइवी घले

बिएल

ती दिन

सन् १९६५ तिर वाइवी घले र भिक्टोरिया क्रस उनका पिता गजे घलेबीच एउटा कुरालाई लिएर गम्भीर मतभेद उत्पन्न भयो। त्यो के भन्दा, फुटबललाई लिएर। वाइवी फुटबल खेलाडी नबनि नछोड्ने। पिता गजे घले, जसरी पनि आफ्नो छोरालाई आफू जस्तै पल्टने बनाउने।

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएपछि गजे घलेको भारतमा मात्र होइन, विश्वभरी नाम थियो। उनी सानै उमेरमा जागिरको खोजीमा गोरखा बारपाकबाट हिँडदै भारतको देहरादुनस्थित गोरखा रेजिमेन्टमा भर्ना भएका थिए।

याे पनि हेर्नुहाेस।

कुवेतसँग आज नेपाल भिड्दै, प्रशिक्षक याेहानको अग्नि परीक्षा

 

गजेलाई आफू पढ्न नपाएकोमा ठूलो गुनासो थियो। त्यसैले उनी आफ्ना छोराछोरीलाई खुब पढाउन चाहन्थे। उनको इच्छै थियो– छोराहरू बेलायती सेनाको लप्टन वा डाक्टर, इन्जिनियर बनून्। वाइवी गजेका ८ सन्तानमध्ये पाँचौ थिए। उनको जन्म देरादुनमै भएको थियो।

गजे ठूलो पदमा त थिएनन् । तर, विश्वब्यापी ख्यातीका कारण उनलाई अर्दलीसहित बस्ने सुविधायुक्त घर भारत सरकारले उपलब्ध गराएको थियो । त्यसैले स्वभाविक रूपमा उनको प्रारम्भिक शिक्षा सुरु भयो, अल्मोडामा। सैनिक पृष्ठभूमि भएका कारण स्कुलमा सवै खाले खेल खेल्नु पर्थ्याे। बक्सिङ, हकी, फुटबल, क्रिकेट आदी।

याे पनि हेर्नुहाेस।

यूएनको सेतो गाडी हाक्ने नेपाली चेलीहरू (भिडियाे सहित )

 

वाइवीको पढाई राम्रै थियो। तर, जति उमेर छिप्पिदैँ गयो, उनको झुकाव खेलतर्फ बढ्न थाल्यो। सन् १९७६ तिर पढाईकै लागि अल्मोडाबाट लखनउ हुँदै बनारसको स्पोर्ट्स होस्टेलमा भर्ना भए, उनी। उत्तर प्रदेशको राज्य सरकारले नै त्यो होस्टेल सञ्चालन गरेको थियो। पढ्ने र खेल्ने दुवै सुविधा थियो, होस्टेलमा। सम्भवत त्यति बेला वाइवीको उमेर १४ बर्षको हुनुपर्छ। नौ कक्षामा पढ्दै थिए, उत्तर प्रदेशको विधालयस्तरको टोलीमा छनोट भएँ, उनी।

पछि गजेले थाहा पाएछन, छोरा पढेर ठूलो हुन्छ भनेको खेलतर्फ पो ढल्किएछ। उनले साफसँग हपारेछन, छोरालाई। पढेर ठूलो मान्छे बन्छ भनेको खेलकुदतर्फ लागेछ। गजे घले र श्याम थापा (भारतीय फुटबलका पूर्व स्टार खेलाडी) पल्टने साथी थिए। श्याम थापाले सानैमा भारतमा तहल्का पिटिसकेका थिए। त्यसैले गजेले झपार्दै छोरालाई भनेछन– श्यामे जस्तो खेलाडी बन्न सक्छस ?’

....

छुट्टीको बेला वाइवी नेपाल आउने जाने गर्थे। दाजु डम्बर त्यतिबला नवलपरासीमा बस्ने। जहिले पनि वाइवीलाई प्रोत्साहन गर्दा रहेछन, भारत छोडेर नेपाल बस्न। दाजुको भनाइ थियो– अर्का देशमा पनि कोही बस्छ।’ दाजुलाई थाहा थियो, भाई राम्रो फुटबल खेल्छ भनेर। त्यसैले नेपालमा कुनै राम्रो फुटबल प्रतियोगिता भयो कि खबर गरिहाल्ने।

याे पनि हेर्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

 

सन् १९८१ मा वाइवी बिएको परीक्षा दिएर खाली बसेका थिए। दाइले खबर पठाएछन– काठमाडौंमा पहिलो राष्ट्रिय प्रतियोगिता हुँदै छ। गढवालमा बसोबास गर्ने २ नेपाली लिएर आउनु। पहिलो राष्ट्रिय प्रतियोगितामा वाइवीले सहभागिता जनाए, लुम्बिनीबाट। टोली सेमिफाइनल सम्म पुग्यो। त्यति बेला चर्चामा रहेको जनकपुर चुरोट कारखानालाई हराएपछि उनको खेलको खुब तारिफ भयो। खेल सकिने वित्तिकै वाइवी बनारस फर्किहाले।

त्यति बेला उनले सोचेका पनि थिएनन्, फेरि नेपाल फर्किइन्छ भनेर। तर, दाईले फेरि खबर पठाएछन– तलाई राष्ट्रिय टोलीमा छनोट गरिएको छ। तुरुन्त आउनु। त्यति बेला भने उनलाई निर्णय गर्न निकै गाह्रो भयो– फुटबल खेल्ने कि अध्ययनलाई अगाडि बढाउने। दाईको चर्को दबाब पछि उनी अन्तत ३१ जनवरी सन् १९८२ मा राष्ट्रिय टोलीमा समावे हुन नेपाल आए।

त्यस पछि भारत फर्किएनन्। उनलाई पल्टने बनाउने बाबु गजे घलेको सपना त्यही चकनाचुर भयो। सुगठित शरीर, राम्रो पढाई र बुबाको विश्वब्यापी ख्यातीका कारण भारत र बेलायत दुवै रेजिमेन्टबाट राम्रो प्रस्ताव आएको थियो, वाइवीलाई। तर, उनले फुटबललाई नै रोजे।

...

सन् १९८२ को नोभेम्बरमा भारतको नयाँ दिल्लीमा एसियन गेम्स हुँदैथियो। यसैको तयारीका लागि राष्ट्रिय टोलीको छनोट भयो। नेपाल यही प्रतियोगितामार्फत पहिलोपल्ट आधिकारिकरुपले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्दै थियो। उनी राष्ट्रिय टोलीमा समावेश हुनुअघि भारतका केएम राजेन्द्र र चीनका सुइले टोली हेरिरहेका थिए।

तर, एसियाडको तयारीका लागि जर्मनीका प्रशिक्षक रुडी गडिम्डर्फलाई नेपाल झिकाइएको थियो। रुडी जर्मनीको प्रख्यात क्लब ह्याम्बर्गका व्यवसायिक प्रशिक्षक। एसियाड सुरु हुनु ६ महिनाअघि नेपाल आएका गडिम्डर्फले आफू आउने वित्तिकै नेपालको परम्परागत फुटबललाई पुरै परिवर्तन गरे। उनी आउनुअघि नेपाल ५–४–१ को परम्परागत शैलीमा फुटबल खेल्थ्यो। तर, उनले त्यो शैलीलाई परिवर्तन गर्दै ४–४–२ मा लगे। उनले मिडफिल्डको भूमिकालाई सशक्त पारे। डिफेन्सलाई ओभरल्यापमा जान प्रेरित गरे। यसका लागि उनी युवा र जोसिलो खेलाडी टोलीमा चाहन्थे। फिट, पूर्णरुपले फिट खेलाडी। उनकै कारण धीरेन्द्र प्रधान, निकै प्रभावकारी सावित भए।

....

एसियाडकै तयारीका लागि नेपाली टोली पहिलो मैत्रीपूर्ण खेल खेल्न पाकिस्तान उड्यो। पाकिस्तानको काइदे आजम कप निकै चर्चित थियो। वाइवी राष्ट्रिय टोलीमा समावेश भएको १५ दिनमै यो प्रतियोगिताका लागि छनोट भएका थिए। त्यो प्रतियोगितामा पाकिस्तानको जुनियर र सिनियर गरेर दुई टोली, चीनको नम्बर १ क्लब साङडोङ, इरान र ओमानसँग खेल्यौ। साङडोङ निकै सशक्त थियो।

सबैले अपेक्षा के गरेका थिए भने नेपालले थुप्रै गोल खान्छ भनेर। तर, ८५ मिनेटसम्म नेपालले यो टोलीलाई गोलरहित बराबरीमा रोक्यो। खेल सकिन अन्तिम दुई मिनेट छँदा विपक्षी गोलपोष्ट नजिकै बसेका गणेश थापाले बल पाए। र त्यसलाई गोलमा परिणत गरे। नेपालले खेल १–० ले जित्यो। यही खेलका कारण चीनले नेपाली फुटबल टोलीलाई सद्भाव भ्रमणका लागि निम्तो नै दियो। चीनको युवा टोली ओलम्पिकको तयारीमा थियो । साङडोङलाई हराएको भएर होला नेपालको खेल हेर्न रंगशाला पुरै प्याक थियो। तर, लाजमर्दो नेपालले ४ गोल खायो।

याे पनि हेर्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

यसअघि काठमाडौंमै भएको एन्फा कपमा पनि नेपालले थाइल्यान्ड, भुटान र कुन्मिङ आर्मी टिमसँग अभ्यास खेल्न पाएको थियो। लगत्तै थाइल्यान्डमा सुरु भएको किङ्स कपमा लागि बैकक प्रस्थान गर्यो। नेपालमै आयोजना भएको युथ एसियाकपमा पनि सहभागी भयो। एसियाडमा सहभागी हुनु ९ महिनाभित्र वाइवीले तयारीका लागि मात्र ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाएका थिए, त्यो पनि देश–विदेश घुमेर।

...

सन् १९८२ नोभेम्बर १९ तारिख, नेपाली टोली प्रतियोगितामा सहभागी हुन नयाँ दिल्ली पुगिसकेको थियो। काठमाडौं छोड्दा भाइटीकाको दिन थियो। किरण राई, राजु शाक्य र वाइवी घरमा टीका लगाएर हिडेका थिए।

एयरपोर्टमा एउटा रोचक घटना भयो। राष्ट्रिय टोलीका जर्मनी प्रशिक्षक रुडी पहिलोपल्ट दौरासुरुवाल लगाएर एयरपोर्ट पुगेका रहेछन्। उनलाई पिसाबले खुब च्यापेछ । पिसाब फेर्न शौचालय जा“दा सुरुवालको इजार नै खोल्न जानेन छन्। इजारै चुँडाई दिएछन्। पछि वाइवीहरूले नै अर्को इजारको व्यवस्था गरे।

२० तारिखमा नेपालको पहिलो खेल थियो, कुवेतसँग। कुवेतीहरू ४ महिनाअघि मात्र स्पेनबाट विश्वकप फुटबल खेलेर फर्किएका थिए। अग्ला र गठिला। हेर्दै डरलाग्ने। पहिले त वाइवीहरू झस्किए छन् , लौ अब मज्जाले गोल खाने भइयो भनेर। कुवेती टोलीको रवाफ पनि बेग्लै थियो मैदानमा। उनीहरू खेल–भिलेजमा नबसेर पाँच तारे होटलमा बसेका थिए।

रेफ्रिले सिढी फुक्दासम्म पनि नेपाली टोली क्रसित थियो, कुवेतीहरूको हाउँभाउँ हेरेर। त्यतिबेला फरवार्डमा गणेश थापा र डम्बरसिंह गुरुङ। मिडफिल्डमा वाइवी (राइट हाफ), नरेन्द्रमान सिंह (लेफ्ट हाफ), मानबहादुर मल्ल र भक्तराज कर्णिकार (बीचबाट) थिए। डिफेन्समा कप्तान रूपकराज शर्मा (लेफ्टबाट) धीरेन्द्र प्रधान (राईटबाट), सुरेश पन्थी (आक्रामक) र श्रीराम रञ्जितकार (स्विपर) थिए। रञ्जन बिष्ट गोलरक्षक थिए।

रुडीले मानबहादुरलाई कुवेती कप्तानलाई एकछिन पनि नछोड्न निर्देशन दिएका थिए। उनी कुवेती टोलीका खतरनाक मिडफिल्डर थिए। संयोगले खेल सुरु भएको १५ मिनेटमा मानबहादुरले हानेको ट्याकल कुवेती कप्तानलाई यस्तरी लागेछ।

ऊ पुरै प्रतियोगिता खेल्न नसक्ने भयो। पहिलो हाफसम्म नेपालले गोलरहित बराबरीमा रोक्यो, कुवेतको विश्वकप टोलीलाई। यसपछि नेपाली टोलीमा केही आत्मबल पलाएको थियो। खेलको ७२ औं मिनेटमा डम्बरले गोल गर्ने सुनौलो मौका गुमाए। उनले कुवेती गोलकिपरलाई पनि कटाएर बल अगाडि लगिसकेका थिए। उनको अगाडि गोलपोष्ट मात्र थियो।

तर, नजिक लगेर गोल गर्ने चक्करमा लागेका डम्बरलाई पछाडिबाट दौडिदै आएका कुवेती डिफेन्डरले ट्याकल हाने र गोल बचाए। ७४ मिनेटसम्म पनि खेल गोलरहित बराबरीमै थियो। तर, त्यसको १० मिनेट भित्र कुवेतले ड्याम–ड्याम ३ गोल हान्यो। ‘हाम्रो सवै प्रयास असफल भयो,’ अहिले पनि त्याे घटना सम्झदा राेमाञ्चित हुने वाइवी भन्छन्। 

तर, खेल सकिन ५ मिनेट बाँकी हुँदा मिडफिल्डमा वाइवीले राम्रो अवसर पाए  उनले २ कुवेतीलाई कटाएर मानबहादुरलाई बल फ्याँके। उनले वान टचमै वाइवीलाई पुनः बल फर्काए। उनी त्यति बेला डिफेन्सहरूलाई काटेर पहिलो बार च्याप्दै कुवेती गोलपोष्टभित्र पुगिसकेका थिएँ। दोस्राे बारमा गणेश थापा र रुपक शर्मा आइसकेका थिए। उनीहरू कराए, ‘बल यता फ्याँक।’

याे पनि हेर्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

‘मेरो मस्तिस्कमा एउटा कुरा खेलिरहेको थियो । बल पास गरौ कि पहिलो बार च्यापेर हानौ । एकपल्ट ‘ट्राइ’ गर्न मन लाग्यो । मैले कस्सिएर पहिलो बारमा हाने । बलले सीधै जाली चुम्यो । मलाई थाहा थिएन, त्यो गोलले रातारात स्टार बनिसकेको रहेछु’, उनी भन्छन्– खेल सकेर लकर रुममा फर्किएको त मसँग हात मिलाउन भीड लागेको रहेछ। तत्कालीन एन्फा अध्यक्ष कमल थापाले प्रतियोगिता भइरहँदा मलाई भन्नु भएको थियो, यो त केही होइन। एकपल्ट नेपाल मात्र फर्क। न भन्दै, काठमाडौ फर्किएको त मलाई नचिन्ने कोही नै भेटिन मैले। त्यतिबेला नेपालमा अशोक केसी, लोकबहादुर शाही, गणेश थापाहरू निकै चर्चित थिए। त्यो एउटा गोलले म पनि उनीहरू जस्तै चर्चित भइसकेको रहेछु।

त्यति बेला टेलिभिजनबाट खेलको प्रत्यक्ष प्रसारण भएको थियो । वाइवीका बुबाले पनि टेलिभिजनबाट खेल हेरेका रहेछन्।  ‘उहाँ मेरो सफलताबाट पहिलोल्ट यति खुसी हुनु भएछ कि पछि म परिवारमा उहाँको सवैभन्दा प्रिय पात्र। उहाँ भिसी गजे घलेमात्र नभई फुटबल खेलाडी वाइवी घलेको बुबा भनेर पनि चिनिन थाल्नु भयो। मैले मेरो पुरा करिअरमा बुबालाई दिएको सन्तुष्टि भनेको नै यही हो,’ उनी भन्छन्। 

 

प्रकाशित मिति: : 2019-09-05 18:46:40

प्रतिकृया दिनुहोस्