चिनियाँ राष्ट्रपतिको भ्रमणमा नेपालसामू तेर्सिएको सुरक्षा चुनौती

तिब्बती शरणार्थीकाे नेपालमा प्रदर्शन। तस्वीर: फाइल फाेटाे द हिन्दु।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको शनिबार हुने औपचारिक नेपाल भ्रमणले दक्षिण एसियाकै राजनीतिलाई प्रभावित पार्ने विश्लेषण गरिएको छ। राष्ट्रपति सी जिनपिङ बिहीबार भारतको दुई दिने अनौपचारिक भ्रमण पुरा गरेर नेपाल आउँदै छन्। उनको स्वागतका लागि सरकारले रातारात तयारी सुरु गरेको छ भने सुरक्षा निकायसँग म्याराथन बैठक गरिरहेको छ। 

नेपालमा रहेका तिब्बती शरणार्थीले चिनियाँ राष्ट्रपतिको चर्को विरोध गर्न सक्ने सम्भावनाका बीच केही दिनयता देखि तिब्बती शरणार्थीको गतिविधिलाई सुरक्षा निकायले गम्भीरताका साथ हेरेका छन्।

भारत–नेपाल नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। तिब्बती धर्मगुरु दलाई लामाका समर्थकहरू भारतको उत्तराञ्चलस्थित धर्मशालाबाट नेपाल छिर्ने सम्भावनालाई सुरक्षा निकायले मिहिनढंगले हेरेका छन्।

एक विशिष्ठ सुरक्षा अधिकारीले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार विगत सातादेखि नै तिब्बती शरणार्थीको गतिविधिलाई सुरक्षा निकायले गम्भीरताका साथ नियालिरहेका छन्।

‘हामीलाई धर्मशालाबाट दलाई लामाका केही प्रतिनिधि विरोधका लागि नेपाल आएको भन्ने जानकारी प्राप्त भएको छ,’ उनले भने।

सुरक्षा निकायले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा चीन विरोधी ६ वटा विभिन्न नारा प्रदर्शन गर्न सक्ने आँक्लन गरेका छन्। यसलाई निस्तेज पार्न केही ठाउँमा धरपकड पनि सुरु गरिएको छ।

राष्ट्रपति सीको भ्रमणमा हुन सक्ने सुरक्षा चुनौती

१ दलाई लामाको फोटो प्रर्दशन गर्ने
२ चार औलाको इसारा सहितको फ्रि तिब्बत लेखिएको झण्डा देखाउने
३ चाइना आउट, लेखेको प्ले कार्ड देखाउने
४ फ्रि पन्चेन लामा लेखेको प्लेकार्ड देखाउने

तिब्बतीहरूको मुद्धामा युरोप र अमेरिकाको एउटै मत रहेका कारण पनि सीको भ्रमणमा सुरक्षा निकायले थप चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।

हाल चीनभित्र मुस्लिम बाहुल्य रहेको उगुर जातीले आफूलाई कमजोर ठान्दै गल्फ मुलुकसँग सम्बन्ध बिस्तार गर्न थालेको घटना पनि नेपाली सुरक्षा निकायको चासोको विषय बनेको छ।

नेपालमा रहेका काश्मिरीहरू पनि भारतको विरोधमा पम्प्लेट देखाउन सक्ने सम्भावनाका बीच सुरक्षा नियकालाई अर्को चुनौती थपिएको छ।

भारतले केही महिनाअघि जम्मु र काश्मिरमा धारा ३ सय ७० लाई खारेज गर्दै यी दुबै राज्यको स्वतन्त्र अस्तित्व समाप्त गरेको थियो। नेपालमा हाल धेरै काश्मिरी बसोबास गर्ने गर्छन्।

भारतले जम्मु र काश्मिरको स्वतन्त्र अस्तित्व समाप्त गरेकोमा पाकिस्तानसँग मिलेर चीनले पनि यसको विरोध गर्दै आइरहेको छ।

तर, चीन–भारतबीच व्यापार इकाइको रुपमा नेपाललाई प्रयोग गर्ने सम्भावनाका बीच चिनियाँ राष्ट्रपतिको भारत भ्रमणले दुबै देशको सम्बन्ध नजिकिन लागेको आँक्लन गरिएको छ। त्यसैले चीन काश्मिर मुद्धामा आफूलाई अलग राख्ने तयारीमा देखिन्छ।

प्रकाशित मिति: : 2019-10-11 09:08:06

प्रतिकृया दिनुहोस्