कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जी जारी

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ति करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै पदबाट राजिनामा दिएका महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता भएको थियो।

जाहेरी प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त बानेश्वरले महरालाई पक्राउ गर्न पक्राउ आदेशको माग गर्दै आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गरेको थियो।

अदालतले प्रहरीको माग बमोजिम पक्राउ पुर्जी जारी गरेपछि महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ। उच्च स्रोतका अनुसार अदालतको आदेश बमोजिम महरालाई आजै पक्राउ गर्ने प्रहरीको तयारी छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको उच्च स्रोतले बतायो। महरालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउने प्रहरीले तयारी गरेको छ।

प्रकाशित मिति: : 2019-10-06 15:41:50

प्रतिकृया दिनुहोस्