कोलम्बियाको लगातार जित, एक खेल अगावै नकआउट चरणमा

गोल गरेपछि खुसी मनाउँदै कोलम्बियाका खेलाडीहरू

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको समूह चरणमा कोलम्बियाले लगातार दोस्रो जित निकालेको छ।

बिहिबार बिहान एसियाली  मुलुक कतारलाई १-० गोल अन्तरले हराउँदै कोलम्बियाले दोस्रो जित निकालेको हो।

मोरूम्बी रंगशालामा कोलम्बियालाई जिताउन डुभान जापाटाले निर्णायक गोल गरे। जापाटाले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।

आमन्त्रित टिमको रुपमा पहिलो पटक कोपा अमेरिका खेलेको कतारले कोलम्बियालाई पहिलो हाफमा बराबरीमा रोक्न सके पनि दोस्रो हाफमा लय गुमायो।

यो जितसँगै समूह 'बी' मा कोलम्बियाले २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ।

यसअघि पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-० ले हराएको थियो।

यो सँगै एक खेल कोलम्बिया जारी कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अब कोलम्वियाले अन्तिम खेलमा पाराग्वेसँग २४ जुनमा खेल्नेछ । यो खेलमा जित हात पारे कोलम्विया समूह ‘बी’ को विजेता बन्नेछ।

कतारको यो पहिलो हार हो। १ अंक जोडेको कतारले पहिलो खेलमा पाराग्वेसँग २-२ गोलको बराबरी खेलेको थियो।

आजै भएको समूहको अर्को खेलमा अर्जेन्टिना र पराग्वेले १-१ गोलको बराबरी खेलेका छन्।

प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित मिति: : 2019-06-20 11:02:50

प्रतिकृया दिनुहोस्