इङ्ल्याण्ड र वेल्समा जारी १२औँ एकदिवसीय विश्वकप क्रिकेटमा च्याम्पियन्स ट्रफि विजेता पाकिस्तानले सात विकेटको लज्जास्पद हारबाट सुरू गरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानका ब्याट्सम्यानहरू वेस्ट इन्डिजका बलरसामु एकपछि अर्को धराशायी भए। पाकिस्तानको ब्याटिङ इनिङ मात्र २१ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय पाँच रनमै समेटियो।
वेस्ट इन्डिजका ओसेन थोमसले चार र जेसन होल्डरले तीन विकेट लिए।आन्द्रे रस्सेलको नाममा दुई विकेट रह्यो।
पाकिस्तानका फखर जमान र बाबर आजमले २२/२२ रन जोडे भने मोहम्मद हाफिजले १६ रन जोडे। बाँकि कुनै पनि ब्याट्सम्यानले दुई अंकको रन बनाउन सकेनन्।
एकसय छ रनको झिनो लक्ष्य पाएको वेस्ट इन्डिजले १३ ओभर चार बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
म्यान अफ द म्याच भने चार विकेट लिएका ओसेन थोमस भए। २२ वर्षीय थोमसका लागि यो वेष्ट इन्डिजका तर्फबाट खेलिएको १०औँ एकदिवशीय अन्तर्राष्ट्रिय खेल थियो। उनले पाँच ओभर ४ बलमा २७ रन खर्चिएका थिए।
वेस्ट इन्डिजका क्रिस गेलले ५० रन बनाए। उनले यो इनिङमा तीन छक्का हानेर विश्वकपमा सबैभन्दा बढी छक्का हान्ने ब्याट्सम्यानको कीर्तिमान पनि बनाए।