भारतलाई ६ विकेटले हराएको न्युजिल्यान्डविरूद्ध ४ सय २१ रनको पहाडजत्रो योगफल तयार पारेर वेष्ट इन्डिजले यसपालिको विश्व कपमा आफ्नो पनि दावेदारी प्रस्तुत गरेको छ।
सन् १९७५ र ७९ मा दुई पल्ट विश्व कप जितेको वेष्ट इन्डिजले त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव गुमाउँदै गएको थियो।
मंगलबार दोस्रो अभ्यास खेलमा उपाधिको दावेदार न्युजिल्यान्डलाई ९१ रनले पराजित गरेको वेष्ट इन्डिजले आफू पनि अन्य टिमभन्दा कम नभएको प्रमाणित गरेको छ।
क्यारेबियाली अलराउन्डर आन्द्रे रसेलले आठौं नम्बर ब्याटिङ गर्दै २५ बलमा ७ चौका र ३ छक्का हानेर ५४ रन बनाएपछि वेष्ट इन्डिजले पहाड जत्रो योगफल तयार पार्यो।
त्यसअघि साई होपले ८६ बलमा ९ चौका र ४ छक्काको सहयोगले १ सय १ रनको सतकीय इनिङ खेलेका थिए।
वेष्ट इन्डिज ४७ दशमलव २ ओभरमा ४ सय २१ रन बनाउँदै अल–आउट भयो। प्रत्युत्तरमा न्युजिल्यान्ड ४७ दशमलव २ ओभरमा ३ सय ३० रनमा समेटियो।
वेष्ट इन्डिजका लागि कार्लोस ब्रेथवेटले ३ विकेट लिए। लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३३ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। यसपछि टम ब्लन्डेल (१०६) र कप्तान केन विलियम्सन (८५) ले मिलेर १ सय २० रनको साझेदारी गरेपछि न्युजिल्यान्डको स्थिति सुध्रिएको थियो।
वेष्ट इन्डिज र दक्षिण अफ्रिकाबीच पहिलो अभ्यास खेल बर्षाका कारण प्रभावित बन्न पुगेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजका लागि क्रिस गेलले ३६ र इभिन लुइसले ५० रन बनाएका थिए।