दिल्ली प्लेअफमा, विराटको बैंग्लोर बाहिरियो

तस्बिरः एजेन्सी

दिल्ली क्यापिटल्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रीमियर लीग (आईपीएल) को प्ले अफमा पुगेको छ।

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरलाई घरेलु मैदान फिरोज शाह कोटला रंगशालामा १६ रनले हराउँदै प्ले अफमा पुग्ने दोस्रो टोली बनेको छ।

यता दिल्लीसँगको हारसँगै रोयल च्यालेन्जर्स बैंलोर समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ।

दिल्ली सन् २०१२ पछि पहिलो पटक प्लेअफमा प्रवेश गरेको हो।

दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो।

उत्कृष्ट सुरूवात गरेको बैंग्लोरका मध्यक्रममा ब्याट्समेनले लगातार विकेट गुमाएसँगै प्लेअफ पुग्ने झिनो आशा पनि सकिएको थियो।

पहिलो विकेटका लागि कप्तान विराट कोहली र पार्थिव पटेलले मात्र ५.४ ओभरमा ६३ रनको साझेदारी गरेका थिए। पाँचौ ओभरको पाँचौ बलमा कागिसो रबाडाले पार्थिव पटेललाई ३९ रनमा आउट गराएपछि उत्कृष्ट साझेदारी तोडियो।

पावरप्ले सकिँदासम्म बैंग्लोरले १ विकेट गुमाएर ६४ रन बनाएको थियो।

पटेल आउट भएपछि कोहली पनि धेरै समय टिक्न सकेनन्। उनी आठौं ओभरमा अक्षर पटेलको बलमा रदरफोर्डको हातबाट बाउन्ड्री लाइनमै क्याच आउट भए। त्यतिबेला बैंलोरले थप चार रन मात्र बनाएको थियो।

कप्तान आउट भएसँगै बेंग्लोरको रनगति घट्यो। एबि डिभिलियर्स पनि १७ रन बनाएर आउट भए भने शिवम दुबेले २४ रन बटुले। हेनरिक क्लासेनले ३ रन बनाउँदामार्कस स्टोइनिसले अभिजित २४ तथा गुरकीरत सिंहले २७ रन जोडे। उनले छैठौ विकेटका लागि ४९ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्‍याए पनि हारबाट जोगाउन सकेनन्।

 अन्तिम ओभरमा बेंगलोरलाई जितका लागि २६ रन आवश्यक रहेको अवस्थामा ९ रन मात्र बनाउन सक्यो फलस्वरूप बैंलोरले १६ रनको पराजय व्यहोर्‍यो।

बैंगलोरलाई दबाबमा राख्न अमित मिश्रा र कागिसो राबाडाले समान २/२ विकेट लिए ।

नेपालका स्टार सन्दीपले समेत दिल्लीको प्लेईङ सेटमा मौका पाएका थिए । ३ ओभर समेत बलिङ गरेका उनले विना विकेट ३६ रन खर्चिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले  निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो।

उसका लागि कप्तान श्रेयस अय्यर र शिखर धवनले अर्धसतकीय इनिङ्स खेले।

उत्कृष्ट सुरूवात गरेको दिल्लीका लागि मध्यक्रमका ब्याट्समेनहरूले लगातार विकेट गुमाउन थाले पनि दिल्लीलाई बलियो अवस्थामा पुर्‍याउन रदरफोर्डले अन्तिमतिर  १३ बलमा तीन छक्का र १ चौकासँगै २८ रन जोडे।

दिल्लीका ओपनर पृथ्वी शले १८ रन जोड्दा अर्का ओपनर शिखर धवनले कप्तान अय्यरसँग ६८ रनको साझेदारी गरे।

३७ बल खेलेका धवन र अय्यरले क्रमश ५० र ५२ रन जोडे। ११.३ ओभरमा यी दुईले दिल्लीको स्कोर १०० रन कटाएका थिए। त्यसपछिको ओभरको दोस्रो बलमा धवन, युजवेन्द्र चहलको बलमा वाशिंगटन सुन्दरको हातबाट समातिए।

धवनले ५ चौका र १ छक्का प्रहार गरेर आउट भएका थिए।

धवन आउट भए पनि अय्यरले दिल्लीको स्कोर बढाउँदै लगे। उनले १४.३ ओभरमा चहलको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धसतक पुरा गरे। यसको एक बल पछि दिल्लीका विकेट किपर ऋषभ पन्त ७ रनको व्यक्तिगत स्कोरमा आउट भए।

यसपछि अय्यर टिमको स्कोर १२९ पुगेको अवस्थामा आउट भए। उनले दुई चौका र तीन छक्का प्रहार गरेका थिए। कोलिन इन्ग्रामले ११ रन बनाउँदा  टिमको स्कोर १४१ थियो।

तर त्यसपछि रदरफोर्ड र अक्षर पटेलले ४६ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्‍याए। पटेलले १६ रन बनाउँदा रदरफोर्डले २८ रन जोडे।

बेंगलोरका लागि चहलले दुई विकेट लिँदा सुन्दर, उमेश यादव, नवदीप सैनीले एक-एक विकेट लिए।

सन्दीपको खराब प्रर्दशन

बैंग्लोरविरुद्धको घरेलु मैदानमा प्लेइङ ११ मा परेका सन्दिप लामिछानेले आइतबार खराब प्रदर्शन गरे।

पहिलो ओभरमा १५ रन खर्चिएका उनले दोस्रो ओभरमा ११ तथा तेस्रो ओभरमा १० रन खर्चिँदै बिना विकेट महंगो सावित भएका छन्। उनले ३ ओभरमा कुल ३६ रन खर्चिए पछि चौथो ओभर बलिङ गर्न पाएनन्।

टिमको तेस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले सुरुवाती दुई बलमा चौका खान पुगे। उनको बलमा पार्थिव पटेलले चौका प्रहार गरे। तेस्रो बलमा एक रन दिएका सन्दिपले चौथो बलमा पनि एक रन खर्चिए।

तर पाँचौ बलमा फेरि पटेलले नै सन्दिपको बलमा चौका प्रहार गरे। त्यसपछि अन्तिम बलमा एक रन लिन सफल भए।

त्यसपछि टिमको ११ औं तथा ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले ११ रन दिए। उनको हरेक सुरुवाती पाँच बलमा एवी डिभिलियर्स र डुबेलाई एक-एक रन दिए। तर ओभरको अन्तिम बलमा छक्का खान पुगे।

तेस्रो ओभरमा सन्दिपले १० रन खाए। पहिलो बल डट फालेका उनले दोस्रो बलमा छक्का खाए। त्यसपछ बाँकी चार बलमा चार रन खर्चिए।

प्रकाशित मिति: : 2019-04-28 23:47:51

प्रतिकृया दिनुहोस्