कर्णाली प्रिमियर लिगः कर्णाली–११ र एपीएफ विजयी

तस्बिरः बिएल

कर्णाली प्रिमियर लिग–२ मा शनिबार कर्णाली र एपिएफ विजयी भएका छन्।

घरेलु टोली कर्णाली–११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले हराउँदा विभागीय टोली शशस्त्र प्रहरी बल (एपीएफ)ले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले हरायो।

आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली–११ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।

१४९ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम क्रिकेट क्लब पूरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

मध्यपश्चिमको लागि शैलेन्द्र यादवले सर्वाधिक ३१, राजबिर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाएका थिए ।

मध्यपश्चिमलाई रोक्न कर्णालीका कृष्ण कार्कीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए। जितेन्द्र सिंह ठकुरी र ललित प्याकुरेलले १/१ विकेट लिएका थिए।

प्रतियोगितामा कर्णाली–११ को यो दोस्रो जित हो। यसअघि लालीगुराँस क्रिकेट क्लब झापालाई ८ विकेटले हराउँदै कर्णालीले प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

दोस्रो जितसँगै कर्णाली–११ का लागि सेमिफाइनल प्रवेश सम्भावना बढेको छ।

यस्तै, शनिबारकै अर्को खेलमा विभागीय टोली शशस्त्र प्रहरी बल (एपीएफ)ले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गर्दै दोस्रो जित निकाल्यो।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा १९३ रनको बिशाल लक्ष्य बनाएको थियो।

एपीएफको ब्याटिङमा अनिल साहले शतक र शरद भेसवाकरले अर्धशतकीय इनिङ खेलेका थिए। अनिलले १०२ रन बनाउन ५८ बलमा १५ चौका र ३ छक्का प्रहार गरेका थिए।

जवफी ब्याटिङ गरेको हिमालयन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा १०८ रन मात्रै बनाउन सकेको थियो। हिमालयनका ब्याट्सम्यान पवन कार्कीले सर्वाधिक २४ रन बनाए। बाँकि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

हिमालयनलाई सस्तैमा समेट्न एपीएफको लागि शरद भेसवाकरले ४ विकेट तथा भुवन कार्की, पुरन विक र सन्दिप जोराले २/२ विकेट लिए।

प्रतियोगिताअन्तर्गत आईतबार २ खेल हुनेछन् । बिहानको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लब र लालीगुराँस क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसोको खेलमा एपीएफ र न्यू होराइजन क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: : 2019-04-27 22:25:32

प्रतिकृया दिनुहोस्