भारतविरूद्ध रोमाञ्चक जित निकाल्दै अष्ट्रेलियाले २ खेलको टी ट्वान्टी सिरिजमा अग्रता लिएको छ।
भारतले दिएको १२७ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम बलमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो।
अष्ट्रेलियाको रोमाञ्चक जितमा ग्लेन म्यास्वेलले अर्धसतकीय इनिङ्स खेले। ४३ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरेका थिए।
यस्तै सर्टले ३७ रन बनाउँदा ह्याण्डस्कम्बले १३ रन जोडे।
अस्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक थियो। हातमा ३ विकेट बाँकी थियो। अस्ट्रेलियाका तल्लो क्रमका ब्याट्मेन जाए रिचर्डसन पेट कमिन्स क्रिजमा थिए। बलिङ गर्न उमेश यादव आएका थिए। यादवले पहिलो बलमा एक रन दिएर अष्ट्रेलियालाई दबाबमा राखेका थिए। तर दोस्रो बलमा चौका दिएर केही सहज बनाइदिए। त्यसपछि तेस्रो बलमा २ रन खर्चिएका उनले चौथो बलमा १ रन खर्चिए।
अन्तिम दुई बलमा अष्ट्रेलियालाई ६ रन आवश्यक भएको बेला यादवले पाँचौ बलमा चौका दिएसँगै खेल रोमाञ्चक मोडमा पुगेको थियो। अन्तिम बलमा कमिन्सले २ रन जोड्दै रोमाञ्चक जित दिलाए।
भारतका लागि जसप्रित बुमराहले ३ तथा युजवेन्द्र चहल र क्रुनाल पाण्ड्याले १-१ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनाएको थियो। उसका लागि केएल राहुलले अर्धसतकीय इनिङ्स खेलेका थिए।
महेन्द्र सिंह धोनीले २९ रन बनाउँदा कप्तान विराट कोहलीले २४ रन जोडेका थिए। बाँकि भारतीय खेलाडीहरूले दोहोरो रनको स्कोर छुन सकेनन्।