हेलिकप्टर प्रयोग गरेर वन्यजन्तु तस्करी

मंगलबार (१७ गते) दिउँसो त्रिभुवन विमानस्थलमा एक जना युवतीलाई प्रहरीले पक्राउ गर्‍यो।

पक्राउ पर्ने ‍हुम्लाकी २९ वर्षीया सम्झना बुढा नियमित जहाजमा विमानस्थल आएकी यात्रु थिइनन्। न त उनी हुम्लाबाट नै आएकी थिइन्।

उनी हेलिकप्टरबाट काठमाडौं आएकी थिइन्। सिम्रिक एयरको हेलिकप्टरमा गोरखाबाट काठमाडौं आएकी उनीसँग वन्यजन्तुका छाला र सिङ थिए। उनीसँग भएको सिङ र छाला कुन जनावरका हुन् भन्ने एकिन भइसकेको छैन। तर उनी पक्राउ परेसँगै वन्यजस्तु तस्करीमा नयाँ रूट बनेको रैछ भन्ने पुष्टि भएको छ। 

हेलिकप्टरबाट वन्यजन्तुको अंग र छालामात्र होइन हिमाली क्षेत्रमा पाइने बहुमूल्य धातु तथा जडीबुटीको पनि तस्करी भइरहेको सूचना पाएपछि यसपटक काठमाडौं विमानस्थलबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो। 

हेलिकप्टरबाटै यस्ता गैरकानूनी ओसारपसारमा गिरोह नै संलग्न भएको हुनसक्ने प्रहरीको आशंका छ।

नेपालको हेलिकप्टर सेवाले हिमाली क्षेत्रमा विभिन्न सेवा दिए पनि सुरक्षा चुनौती पनि बढ्दै गएको नियामकदेखि प्रहरीसम्मको निष्कर्ष छ।

सामन्यत: उच्च हिमाली क्षेत्रमा हेलिकप्टर पर्यटकको उद्धार, माउन्टेन फ्लाइट तथा बिरामी बोक्न हुने गरेको भए पनि पछिल्ला दिनमा स्वेच्छाचारिता बढ्दै गएको छ। काठमाडौंबाट उडेपछि कतै पनि जाँच नहुने भएकाले  कतिपय हेलिकप्टर अवैधानिक गतिविधिमा संलग्न हुन थालेका आशंका गरिएको छ। हेलिकप्टरबाट कानूनले बर्जित गरेका काम हुने जोखिम बढ्दै गएको विमानस्थलका अधिकारीले बताए।

प्रकाशित मिति: : 2019-12-04 18:18:23

प्रतिकृया दिनुहोस्