सभामुखमाथिको आरोप निराधार, भ्रममा नपर्न सबैमा प्रेस सल्लाहकारको अनुरोध

फाइल तस्बिर

नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएको विषयमा उनका प्रेस सल्लाहकार डिल्ली मल्लले एक प्रेस विज्ञप्ति जारी गरी आरोप निराधार भएको दाबी गरेका छन् ।

तीनकुनेस्थित कोठामा आएर उनले आइतबार राति मदिराले मातेको सुरमा दुर्व्यवहार गरेको भनेर एक अनलाइनमा आएको समाचारलाई आधार बनाएर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार महतले  समचारको खण्डन गरेका हुन् । 

सत्य-तथ्य समयमा उजागर हुदै जाला, हामीले भने प्रेस सल्लाहकार डिल्ली महतले जारी गरेको प्रेस विज्ञप्ती जस्ताको तस्तै सार्वजनिक गरेका हौं । यसमा अहिलेलाई हाम्रो कुनै मत या टिप्पणी छैन ।  

यस्तो छ प्रष्टीकरण

सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन

सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्यममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ। यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु।

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन। हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु। सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तिबाट प्रष्ट पार्न चाहन्छु। साथै समाचारमा आएको जस्तो चस्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु।

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो। तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए। सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ।

यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ। यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन। उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ। सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु।

मिति, २०७६।०६।१३
डिल्ली मल्ल
सभामुखज्यूको प्रेस सल्लाहकार

प्रकाशित मिति: : 2019-09-30 22:23:31

प्रतिकृया दिनुहोस्