कांग्रेस नेता रिजालमाथि नेकपा कार्यकर्ताद्वारा आक्रमण प्रयास

तस्बिरः बिएल

तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि पुगेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएको छ । नेता रिजालमाथि जिल्ला सदरमुकाम दमौलीबाट रिसिङ जाँदै गर्दा नेकपा कार्यकर्तले आक्रमणको प्रयास गरेका हुन् ।

उद्घाटन कार्यक्रममा जान नदिन नेकपा कार्यकर्ताले बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ । यता, नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताद्वारा हतियार र लाठीले आक्रमण गर्न प्रयास भएको बताएका छन् ।

‘कतिपय ठाउँमा त ढुंगामुढाको प्रयास गरे’, नेता रिजालले भने, ‘गाउँपालिका प्रवेश गर्ने ठाउँ वडा नम्बर ८ मा तीन घन्टा बाटो छेके ।’‘भवन निर्माणमा हाम्रो विरोध छ’ भन्दै बाटो छेकेका थिए । आफूले यसबारे छलफल गर्न सकिने तर कार्यक्रमस्थलमा नपुगी कुनै हालतमा नफर्कने अडान लिएर तीन घन्टा उभिएर बसेको उनले सुनाए ।

नेकपा कार्यकर्ताको अवरोधबारे थाहा पाएपछि कांग्रेस कार्यकर्ता पनि त्यहाँ पुगेका थिए । त्यसपछि उनीहरुले अवरोध हटाएको नेता रिजालले जानकारी दिए ।

यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन् ।

‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपा नेता–कार्यकर्ता फाँसीवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्छु,’ नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारको मण्डले शैलीविरुद्ध लोकतन्त्र जोगाउन कांग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ।

प्रकाशित मिति: : 2019-09-29 18:03:49

प्रतिकृया दिनुहोस्