गणतन्त्रयता ४६ लाख युवा काम खोज्दै विदेशमा

Photo Credit : Onlinekhabar

चितवनका नारायण कँडेल साउदीबाट फर्किँदैछन् । चौंथोपटक ड्राइभिङका लागि साउदी पुगेका उनीसँग अघिल्ला पटकको जस्तै योजना छ । फर्किएर बाँकी जिन्दगी परिवारसँगै बिताउने र आफ्नै देशमा केही गर्ने ।

‘फर्किंदा अबजस्तो परे पनि विदेश आउँदिन भन्ने हुन्छ, तर दुई महिना बसेपछि विरक्त लागेर विदेश जाने हुटहुटी सुरु भइहाल्छ,’ उनी भन्छन् ।

नारायण प्रतिनिधि पात्रमात्रै हुन् । विदेशिएका धेरैजसो नेपाली युवाको मनोदशा यस्तै नै छ । तथ्यांकले पनि यस्तै देखाउँछ । ०६२/६३ को जनआन्दोलनपछि ४६ लाखभन्दा बढी युवाले स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारको बाटो रोजेका छन् ।

२०६३ देखि गत साउनसम्ममा ४५ लाख ९३ हजार युवाले सरकारबाटै अनुमति लिएर कामका लागि देश छाडेको तथ्यांक छ । यो तथ्यांकमा एकपटक विदेसिएर दोस्रोपटक पुनः श्रम स्वीकृति लिएर जानेको संख्या जोडिएको छैन ।

राजनीतिक व्यवस्था परिवर्तनपछि पनि नयाँ संविधान बन्न लामो समय लाग्यो । त्यही ९ वर्ष लामो संक्रमणकाललाई नै दोष दिएर नेताहरू पन्छिँदै आए ।

४ वर्षअघि नयाँ संविधान बन्यो । त्यसपछि कामका लागि विदेश नै जानुपर्ने युवाको बाध्यता हट्ने अपेक्षा थियो । तर, अहिले पनि उही अवस्था छ ।

 

 

प्रकाशित मिति: : 2019-11-11 11:29:09

प्रतिकृया दिनुहोस्