सुरक्षा सतर्कताप्रति नेपाल गम्भीर

काठमाडौँ, कात्तिक २४ गते । अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ । अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।
“नेपाल आतङ्कवादी समूहको प्रयोग भूमि हुनसक्ने कुरामा कुनै दम छैन,” गृह मन्त्रालय सम्बद्ध अधिकारी भन्छन्, “संयुक्त राज्य अमेरिका र भारतले कतिपय अवस्थामा आँैल्याएको जस्तो सुरक्षा अवस्थामा नेपाल विलकुुलै कमजोर छैन, बरु अब्बल छ ।”
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था र खुला सिमानाको सुरक्षा संवेदनशीलताप्रति सरकार गम्भीर छ । अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले विमानस्थल अध्यागमन सुरक्षा जाँच अबको एक महिनाभित्र प्रविधिबाट हुन लागेको बताउनुभयो । “स्वदेशमै निर्मित ‘नेपाली पोर्ट सिस्टम (सफ्टवेयर)’ जडान हँुदैछ, मानवीय कमीकमजोरी छन् भने पनि अब प्रविधिले औँल्याउने छ, बाहिरी हल्लाको पछि लाग्नुभन्दा आन्तरिक सुरक्षा व्यवस्था मजबुत तुल्याउन सक्रिय छौंँ,” उहाँले भन्नुभयो ।
अध्यागमन सुरक्षा व्यवस्था मान्छेले होइन, प्रविधिले गर्ने भएकाले ढुक्क हुन आग्रह गर्दै उहाँले नियतवस गरिने मानवीय कमीकमजोरीबाहेक प्राविधिक तथा सुरक्षा कमजोरी नरहेको दाबी गर्नुभयो । सरकारले अमेरिकी पाइसेज सफ्टवेयरको सट्टा स्वदेशी पोर्ट सिस्टम राख्ने तयारी गरेको हो ।

प्रकाशित मिति: : 2019-11-10 09:39:30

प्रतिकृया दिनुहोस्