सभामुख र कजाखस्तानका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता

कजाखस्तानका प्रधानमन्त्री अस्कर मामिनसँग शिष्टाचार भेटवार्तामा सभामुख कृष्णबहादुर महरा । तस्वीर सौन्जयः सभामुखका प्रेस सल्लाहकार

युरेशियाली देशका सभामुखहरुको चौथो बैठकमा सहभागी हुन कजाखस्तान जानुभएका सभामुख कृष्णबहादुर महरा र कजाखस्तानका प्रधानमन्त्री अस्कर मामिनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, पारस्परिक सहयोग, व्यापार र लगानीलाई अभिवृद्धि गर्ने लगायतका बारेमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए।

नेपाल र कजाखस्तानबीचको सम्बन्ध राम्रो रहेको बताउँदै सभामुख महराले आगामी दिनमा कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिए।

सभामुख महराले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको जानकारी दिँदै नेपाल भ्रमणका लागि कजाखस्तानका प्रधानमन्त्रीलाई अनुरोध गरे।

साथै आफ्नो देशका नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गरिदिन पनि महराले आग्रह गरे। महराले युरेशिशन देशका सभामुखहरुको बैठक आयोजना गरेकामा प्रधानमन्त्री मामिनलाई धन्यवाद व्यक्त गरे।

भेटवार्ताका अवसरमा कजाखस्तानका प्रधानमन्त्री मामिनले नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न र व्यापार तथा अन्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न इच्छुक रहेको बताए। युरेशियन देशहरुका सभामुखहरुको बैठकको अवसरमा नेपालको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए।

प्रकाशित मिति: : 2019-09-24 22:40:27

प्रतिकृया दिनुहोस्