बिजुक्छे अध्यक्षमा नयाँ केन्द्रीय समिति निर्वाचित

नेपाल मजदुर किसान पार्टीको सोमबार सम्पन्न सातौं महाधिवेशनबाट नारायणमान बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएपछि सम्बोधन गर्दै बिजुक्छे ।

नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । आज साँझ सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन्।  त्यस्तै सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएको केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए।

महाधिवेशनबाट कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष बिजुक्छेले बन्दसत्रमा शपथग्रहण गरेको र उनले शपथग्रहण गरेपछि नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएका थिए। प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा उद्धव सुजखु र सुनकेसा शाही सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो।

आजको बन्दसत्रले पार्टी अध्यक्ष बिजुक्छेले प्रस्तुत गरेको जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा पारित गरेको र पार्टीको भावी कार्यक्रममाथि समूहगत छलफल र समूह प्रस्तुतिपछि संशोधनसहित पारित गरिएको थियो । उनले प्रस्तुत गरेको समसामयिक राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रस्तावहरू संशोधनसहित पारित गरेको छ।

प्रकाशित मिति: : 2019-09-23 22:33:46

प्रतिकृया दिनुहोस्