टीकापुर घटनाका विषयमा छलफल भएको छ : अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाका विषयमा छलफल भएको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै उनले भने, “आदिवासी थारूहरु आन्दोलनका सहयात्री हुन् । हामी गतिशीलता र प्रगतिशीलमा विश्वास गर्ने मान्छे, निरन्तर समृद्धिको यात्रामा लैजाने सङ्कल्प गरेका छौँ ।”


अध्यक्ष प्रचण्डले राष्ट्र समृद्धि र समाजवादको आधार तयार गर्न बाँकी रहेको उल्लेख गरे । उनले भने, “थारूहरुको मात्र आन्दोलन उनीहरुको मात्र होइन, सबैको आन्दोलन हो, यसको समाधानको बाटोमा लाग्नुपर्छ ।”

अध्यक्ष प्रचण्डले देशमा सञ्चालन भएका सबैखाले आन्दोलनमा थारूहरुको सहभागिता रहेको समेत उल्लेख गरे । तराईको भूमिपुत्रका रुपमा रहेका थारूहरु राष्ट्रनिर्माणका लागि सधैँ पहरेदारको भूमिका निर्वाह गरिरहेको बताए ।

नेपालका थारूहरुको योगदान विशिष्ट रहेको बताउँदै उनले सामाजिक रुपान्तरणका निम्ति थारूहरुको योगदान विशिष्ट स्मरण गरे ।

सो अवसरमा नेकपा सचिवालय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्य, कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी लगायतका व्यक्तिहरुले जितिया पर्वको शुभकामना दिएका थिए ।

प्रकाशित मिति: : 2019-09-22 23:11:12

प्रतिकृया दिनुहोस्