भारी हिमपात र वर्षाले मनास्लु आरोहण प्रभावित

तस्बिरः नेपाल न्यूज

भारी हिमपात र वर्षाले मनास्लु हिमाल आरोहण प्रभावित बनेको छ। आरोहण अवधि गुज्रँदै गए पनि प्रतिकूल मौसमका कारण डोरी टाँगेर बाटो बनाउने कामसमेत सकिएको छैन। क्याम्प ३ सम्म बाटो तयार भए पनि त्यसभन्दा माथि शेर्पा गाइड जान नसकेपछि आधारशिविरमै फिर्ता भएको बाटो बनाउने जिम्मा पाएको सेभेन समिट ट्रेकका निर्देशक टासीलाक्पा शेर्पाले बताए। मनास्लु आरोहणको ६२ बर्षे इतिहासमा यस बर्ष सबैभन्दा धेरै आरोही मनास्लु पुगेका छन्।

५ सय ३० जनाले सरकारसँग अनुमति लिएर आरोहणका लागि आधारशिविर पुगे पनि खराब मौसमका कारण बाटो नबन्दा आरोहण प्रभावित बन्ने सम्भावना देखिएको छ। डोरी टाँगेर बाटो बनाउनेमा सेभेनसमिट ट्रेकका शेर्पा गाइड संखुवासभा मकालुका निमादोर्ची, ङिमा ठिन्डुक, तेन्जिङ छोम्बी, रिन्जी शेर्पा र भोटखोलाका नाम्ग्य भोटे छन्।

प्रकाशित मिति: : 2019-09-18 17:25:23

प्रतिकृया दिनुहोस्