जहाजमा त्यस्तो हुनु आश्चर्यजनक -क्याप्टेन केबी लिम्बु

क्याप्टेन केबी लिम्बु

शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं फर्किने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्रै दुर्व्यवहार भएको घटनालाई लिएर आश्चर्य लागेको छ । मैले जहाज उडाउन थालेको ४० वर्ष भयो तर यस्तो अवस्था यसअघि देखेको थिइन । विमान भनेको संवेदनशील क्षेत्र हो । अन्तर्राष्ट्रिय क्षेत्रमा यस्तो घटना भएको देखिएको छैन । विमानभित्र गएर नाराबाजी गर्न वा अन्य गतिविधि गर्न मिल्दैन । यो सार्वजनिक बसमा झगडा गरेको जस्तो विषय होइन ।

त्यसो गरियो भने उडान नै अवरोध गर्न लागेको वा अपहरणको प्रयास गरिएको अर्थसमेत लगाउन सकिन्छ । त्यस्तो अवस्था भनेको निकै नै गम्भीर विषय हो । त्यस्तो गतिविधि भएमा पाइलटले त्यसो गर्ने व्यक्तिलाई उडानमा नै नसमेट्ने वा उडान स्थगित नै गर्ने अधिकार पनि हुन्छ । त्यसैले विमानभित्र जे भयो त्यो हुनै नहुने कुरा हो । दुःखद कुरा हो । त्यहाँ सुरक्षाकर्मी पनि थिए होला, अन्य स्टाफ पनि थिए होलान् । तर, कसरी यस्तो भयो अचम्म लागेको छ । त्यसबारेमा  आवश्यक छानबिन गरेर  कानुनी कारवाही होला नै ।

प्रकाशित मिति: : 2019-09-16 07:36:16

प्रतिकृया दिनुहोस्