टानका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

टानका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

काठमाडौँ, २ असोज । ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) को ४१औँ वार्षिक साधारणसभावाट निर्वा्चित नयाँ कार्यसमितिका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् ।
    
टानका निर्वतमान अध्यक्ष नवराज दाहालले यहाँ आयोजित कार्यक्रममा नवनिर्वा्चित अध्यक्ष खुमबहादुर सुवेदी नेतृत्वको कार्यसमितिलाई पद हस्तान्तरण गर्नुभएको हो । यही भदौ २० गते भएको टान निर्वाचनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको थियोे । टानका प्रमुख निर्वाचन अधिकृत रमेशकुमार मैनालीले नवनिर्वा्चित कार्यसमितिलाई शपथ गराए । 

अध्यक्ष सुवेदीले सम्पूर्ण पर्यटन व्यवसायीको भावना बमोजिम परिणाम देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाए । पदयात्रा क्षेत्रमा अनेक चुनौती र सम्भावना रहेको उल्लेख गर्दै उहाँले निर्वाचनका दौरानमा दुई समूहबीच प्रस्पिर्धा भएपनि व्यवसायीको साझा उद्देश्य भएकाले सबैको सल्लाह बमोजिम संस्थालाई अघि बढाउने उल्लेख गरे । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको समग्र सुधारका लागि सरकार गम्भीरताका साथ लागि परेको बताए । पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिइएको र अन्य पर्यटकीय गन्तव्यसम्म पुग्ने कनेक्टिभिटी पनि चुस्त रुपमा अघि बढेको सन्दर्भमा पर्यटन क्षेत्रको विकासका लागि उपयुक्त अवसर सिर्जना भएको भन्दै यसमा निजी क्षेत्रको सक्रियता चाहिने उल्लेख गरे । 

उनले आवश्यक ऐन कानूनका साथै सबैखाले समस्या अब चाँडै समाधान हुने बताउँदै मन्त्रालय र टानबीच आपसी साझेदारिताकासाथ अघि बढ्नुपर्नेमा जोड दिए । 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले लामो समयदेखि अन्यौलमा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लगायत टानसँग सम्बन्धित समस्या अब चाँडै नै समाधान हुने गरे । महानिर्देशक घिमिरेले ‘फेक रेस्क्यू’ प्रसङ्ग उल्लेख गर्दै  हेलिकप्टर कम्पनी र अस्पतालले आवश्यक प्रतिवेदन दिइसकेको अवस्थामा टे«किङ कम्पनीहरुले भने अटेर गरिरहेको जिकिर गर्दै आगामी दिनमा असहज परिस्थित आउनेतर्फ सचेत गराए । 

निवर्तमान अध्यक्ष नवराज दाहालले आफ्नो नेतृत्वको कार्यसमितिले परिस्थितिबस महत्वपूर्ण काम गरेको दाबी गर्दै कतिपय कामको प्रतिफल अबको केही दिनभित्रै देखिने बताए । सो अवसरमा निवर्तमान अध्यक्ष दाहालले नवनिर्वाचत अध्यक्ष सुवेदीलाई टान सचिवालयको चावी, निवर्तमान महासचिव आङपेम्बा शेर्पाले नवनिर्वाचत महासचिव सरिता लामालाई टान कार्यसमितिको फाइल र निवर्तमान कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले नवनिर्वाचत कोषाध्यक्ष ऋतु ग्याम्दानलाई कोषको सम्पूर्ण खाता हस्तान्तरण गरेका थिए । रासस

प्रकाशित मिति: : 2019-09-20 00:33:02

प्रतिकृया दिनुहोस्