मुख्यमन्त्रीको कार्यालयमा धर्नामा रोक (भिडियो सहित)

तस्बिरः बिएल

प्रदेशभरीका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने माग राख्दै मुख्यमन्त्री कार्यालयमा धर्ना दिन पुगेका शिक्षकहरुलाई प्रहरीले रोक लगाएको छ ।

अस्थायी तथा करार शिक्षक संघर्ष समिति प्रदेश १ को आह्वानमा सोमबार मुख्यमन्त्री कार्यालयमा काम रोक धर्ना दिन उनीहरु पुगेका थिए । प्रहरीले धर्नामा रोक लगाउँदै उनीहरुलाई हटाएको छ । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्थाअनुसार आफूहरुलाई स्थायी गराउनु पर्ने माग गर्दै सरकारलाई दबाब दिन धर्ना कार्यक्रम राखिएको समितिका संयोजक कपलेश्वर मण्डलले जानकारी दिए ।

विगत लामो समयदेखि रोजगारीको ग्यारेन्टीको माग गर्दै आन्दोलनरत अस्थायी तथा करार शिक्षकहरुले सरकारलाई दबाब दिँदै आएका छन् । रोजगारी खोस्न नपाइने र आईएलओ सन्धी कार्यान्वयन गर्नु पर्ने शिक्षकहरुको माग छ । संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउनु पर्ने माग गरेर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

अस्थायी तथा करारमा रहेका शिक्षकहरुले आफूहरुलाई स्थायी गर्न माग गर्दै पटक–पटक प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाए पनि मागको सम्बोधन नभएपछि आफूहरु धर्नामा उत्रिएको आन्दोलनरत शिक्षिका टीका रिजालले बताइन् । माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्नालगायत आन्दोलनका कार्यक्रम जारी राख्ने अस्थायी करार शिक्षकहरुले चेतवानी दिएका छन् ।

संघर्ष समितिका सचिव वीरेन्द्र दासले शान्तिपूर्ण धर्ना दिन खोज्दा प्रहरीले जवरजस्ती हटाएको बताए । त्यस क्रममा प्रहरीले दुरव्यवहार गरेको उनको गुनासो छ । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बेदप्रसाद गौतमले मुख्यमन्त्री कार्यालयको आवतजावत मै अवरोध पुर्याउने गरी मुख्य गेटमै धर्ना दिन लागिएपछि हटाइएको बताए । शान्तिपूर्ण आन्दोलनका नाममा मुख्यमन्त्री कार्यालयमा आवतजावत तथा कार्यालयको काममा अवरोध पुर्याउन नपाइने उनले बताए ।

प्रकाशित मिति: : 2019-09-16 18:10:08

प्रतिकृया दिनुहोस्