नागरिकताको बिषयमा खुकुलो नीति लिन हुन्न – भीम रावल (भिडियो सहित)

तस्बिरः बिएल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन्। कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु संविधानविपरित भएको उनको तर्क छ।

सोमबार एक साक्षात्कारमा बोल्दै नेता रावलले संविधान जारी गर्नुपुर्व नै आफूहरुले नागरिकतासम्बन्धी धेरै चरणमा छलफल गरेको बताए। उनलेसंविधान जारी गर्दा ताकाको तत्कालिन् सरकारले हतारमा नागरिकता ऐन ल्याएको आरोप लगाए। रावलले गलत र अवैध तरिकाले नागरिकता दिईएको पाईए तत्काल खारेज गर्नुपर्ने आवाजपनि उठिरहेको पनि बताए।

छिमेकी मुलुक भारतमा पनि विवाह गरेर आएका महिलाहरुले नागरिकता प्राप्त गर्न ७ वर्षसम्म पर्खिनुपर्ने प्रावधानर रहेको सुनाउँदै राज्य व्यवस्था मितिले विलम्ब नगरी अब नागरिकता विद्येयक पारित गर्नुपर्ने उनले बताए। नागरिकताको विषयलाई जहिल्यैपनि उक्काएर जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व समाप्त पार्ने षड्यन्त्र र खेल भैरहेको पनि रावलको भनाई छ।

सरकारको कामप्रति पनि टिप्पणी गर्दै रावलले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकर नेपाल भ्रमणमा आउँदा माथिल्लो कर्णाली आयोजनामा वित्तिय व्यवस्थापन गर्नेबारे सहमति र कोशी उच्च बाँधको कामबारे भएको सहमतिको विरोध गरे। रावलले नेपाल कुनैपनि शक्ति राष्ट्रको सैनिक गठबन्धनमा जान नहुने तर्क गरे।

 

प्रकाशित मिति: : 2019-09-16 17:54:06

प्रतिकृया दिनुहोस्