भ्रम, अराजकता र आतंकको वातावरण बनाउन प्रयासहरु हुन थाले– प्रचण्ड (भिडियोसहित)

तस्बिरः बिएल

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवादप्रति दृढ संकल्प रहँदै संघीयता र गणतन्त्रका विषयमा जनतामा भ्रम सिर्जना गर्ने प्रवृतिविरुद्ध प्रतिवाद गर्न आग्रह गरेका छन्।

सोमबार नेकपा मुख्यालय धुम्बाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रममा उनले केही त्यस्ता तत्त्वहरूले जनतामा भ्रम छरिरहेको भन्दै सतर्क र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्न आग्रह गरेका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा समाजवादतर्फ अगाडि बढिरहेको यो ‘सिस्टम’ लाई कलिलो मै मास्नका लागि भ्रम, अराजकता, आतंकको वातावरण बनाउन प्रयासहरु हुन थालेको उनले बताए। प्रचण्डले ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट संविधान जारी र मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै अबको यात्रा समाजवादकै भएको दोहराए।

भ्रम, अराजतका, आतंकको वातावरण बनाउन प्रयास भइरहेकाले यो परिवर्तनलाई रक्षा र सुदृढ गर्न साथै समाजबादतिर अगाडी बढ्ने संकल्प सबैमा हुनु जरुरी रहेको उनको भनाइ छ। उनले विकास र समृद्धिबाट समाजवादको निर्माण गर्न र आधार तयारको विषयमा अगाडि बढ्नुको विकल्प नभएको जिकिर गरे।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले समाजवादको आधार तयार पार्न वैचारिक स्पष्टता, समर्पित, अनुशासित पार्टी संगठन र सुदृढिकरणको आवश्यकता औल्याए ।

प्रकाशित मिति: : 2019-09-16 14:48:38

प्रतिकृया दिनुहोस्