संविधानको भावना अनुसार भूमि सुधारका कार्यक्रम ल्याउन माग

तस्बिरः बिएल

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बलराम बाँस्कोटाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक बनाउन समानतामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा उनले भने,'समानताका लागि भूमिसुधार आवश्यक पर्छ । भूमि सुधारमा राजनीतिक दलले किन चासो देखाएनन् ? भूमिसुधारलाई कनिका छराईका रुपमा हेरिनुहुँदैन । संविधानको भावना अनुसार भूमि सुधार आवश्यक पर्छ।'

सांसद मुक्ताकुमारी यादवले तराई/मधेशमा धान रोप्नु पूर्व डुवानमा पर्यो, अहिले अलि अलि रोपिएका धान पनि पानी नपरेर सुख्खाग्रस्त भयो, धानका गरामा चिराचिरा परेको छ, यस्तो अवस्थामा तराई/मधेशका जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरे।

उनले भने, “सरकारले गतवर्ष जस्तै तराई/मधेश रोपाइँ भयो भन्ने तथ्याङ्क सार्वजनिक गर्‍यो । व्यवहारमा यस्तो छैन।'

सांसद चक्रप्रसाद स्नेहीले सदनमा सांसदले उठान गरेका विषयमा सरकारको ध्यान गएको छ की छैन ? के कति पूरा भयो, के कारणले सांसदले बोलेका कुरा पुरा भएन ? जवाफ दिनुपर्छ की पर्दैन ? भन्ने प्रश्न गरे।

उनले सामुदायिक विद्यालयमा कार्यरत दशजोड दुईका शिक्षक, कर्मचारी, कार्यालय सहायक, बालविकास सहायकका माग पूरा गराउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए। हाल सामुदायिक विद्यालयमा ३५ हजार ३१८ कर्मचारी र २९ हजार ४६ कार्यालय सहायक, ३० हजार ४४८ बालविकास सहायक कार्यरत रहेका छन् ।

सांसद रामप्रित पासवानले विसं २०८७ सम्ममा साक्षर नेपाल बनाउने सरकारले अभियान पूरा हुन नसक्ने अवस्थामा रहेको चर्चा गर्दै दलित, मुस्लिम समुदायमा विशेष साक्षर अभियान सञ्चालन गर्न आग्रह गरे। 'साक्षर नेपाल अभियान बालुवामा पानी हालेजस्तो भयो, साक्षर अभियानमा हालसम्म के कति खर्च भयो । सार्वजनिक गर्नुपर्छ,' उनले भने।

सांसद रामनारायण विडारीले हरेक क्षेत्रमा मिसावट हुँदा यसको असर सर्वसाधारण जनताको स्वास्थ्यमा असर परिरहेको छ , सरकार के हेरेर बसिरहेको छ ? भन्ने प्रश्न गर्दै खाद्यान्न, फलफूल तथा तरकारी मिसावट गर्नेमाथि कारवाही गर्न माग गरे। उनले भने, 'मिसावट गर्ने माथि कारवाही भयो भन्ने कहिले सुन्ने ?'

सांसद डा विमला राई पौडेलले दूध आउने समयसम्म गाईको दूध खाने, दूध आउन छाडेपछि गाईलाई सडकमा छाडिदिने परम्परालाई अन्त्य गर्न स्थानीय निकायले विशेष ध्यान दिनुपर्ने बताए।

छोडिएका जनावर व्यवस्थापन सम्बन्धी नीति बनाउन र छाडा जनावर व्यवस्थापनमा सरकारले के गरिरहेको छ ? जानकारी दिन सरकारसँग उहाँले माग गर्नुभयो । सांसद धनकुमारी खतिवडाले ‘मेलम्ची खानेपानी आउँछ आउँछ’ कति वर्षसम्म जनतालाई भन्ने प्रश्न गर्दै मेलम्चीको मुहान स्थानमा भएको आन्दोलनमा सरकारले श्रमिकमाथि दमन गरेकोमा दुःख व्यक्त गरे।

श्रमिकले आफ्नो ज्याला माग गर्दै आन्दोलन गर्दा किन दमन गरियो? भन्ने प्रश्न गर्दै सांसद खतिवडाले मेलम्चीको बाँकी काम सम्पन्न गर्न नयाँ ठेकेदारलाई के आधारमा ठेक्का दिइयो ,जानकारी दिन सरकारसँग माग गरे।

सांसद दिलकुमारी थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका ५६ जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण गर्न ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे। उनले आमनागरिकलाई सो रोगनियन्त्रणका लागि परिचालन गर्न आह्वान गर्नु जरुरी रहेकोमा जोड दिए।

चीनका विदेश मन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी दिन माग

सांसद राधेश्याम अधिकारीले चीनका विदेशमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणका बारेमा परराष्ट्रमन्त्रीले सदनमा जानकारी गराउन माग गर्दै नेपालले एशिया प्याशिफिक बैठकमा भाग लिन्छ कि लिँदैन यसका बारेमा सरकारको भनाइ के हो ? भन्ने प्रश्न गरे।

सांसद रामलखन चमारले नवलपरासी जिल्लामा बन्द भएका सुविधा भन्सार कार्यालय पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद शान्तिकुमारी अधिकारीले सतिप्रथा उन्मुलन भएको एक सयवर्ष पूरा हुन लाग्दा पनि समाजमा महिलामाथि हुने हिंसामा कमि आउन नसकेकोमा चिन्ता व्यक्त गरे। रासस

प्रकाशित मिति: : 2019-09-12 15:41:08

प्रतिकृया दिनुहोस्