नागढुंगा-मुग्लिन सडक चार लेनमा विस्तार गर्ने योजना रद्द

तस्बिरः नयाँ पत्रिका

नागढुंगा–मुग्लिन (९५ दशमलव ५ किलोमिटर) सडक चार लेनमा विस्तार गर्ने योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि रद्द गरेको छ । त्यसको विकल्पमा सिस्ने खोलादेखि धार्केसम्म नयाँ सडक निर्माण गरिने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार त्यसबाहेक साबिककै सडकलाई मर्मत–सम्भार तथा नयाँ पुल थपेर यातायात आवागमनलाई द्रुत बनाइने योजना छ । 

निर्माण हुने तयारीमा रहेको नागढुंगा–सिस्नेखोला टनेलपछि धार्केसम्म ११ किलोमिटर लम्बाइको छुट्टै नयाँ सडक निर्माण गरिनेछ । त्यो सडक धार्के पुगेपछि पुनः नागढुंगा–मुग्लिन सडकमा जोडिनेछ । ‘नयाँ बन्ने सडक पनि दुई लेनको हुनेछ भने हालको दुई लेनको गरी चार लेनको सडक हुनेछ,’ सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘नयाँ निर्माण हुने सडकको अध्ययनसमेत भइसकेको छ ।’

प्रकाशित मिति: : 2019-05-15 09:02:27

प्रतिकृया दिनुहोस्