प्रेस स्वतन्त्रताविरोधी’ विधेयकविरूद्ध आजदेखि पत्रकार महासंघ आन्दोलनमा

सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ।

मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी  रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो।

महासंघका महासचिव रमेश बिष्टका अनुसार आज दिउँसो २:३० बजे महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग महासंघको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम छ।

सरकारले प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको र विधेयकका प्रावधान प्रेस स्वतन्त्रता हनन गर्ने खालको भएपछि महासंघ आन्दोलनमा होमिएको हो।

सदनमा दर्ता भएको उक्त विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिए पत्रकारलाई दश लाखसम्म जरिवना भराउन सकिने उल्लेख छ।

प्रकाशित मिति: : 2019-05-12 12:37:55

प्रतिकृया दिनुहोस्