नीति तथा कार्यक्रममा दाहालको टिप्पणीः रेल अनिवार्य आवश्यकता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शान्तिलार्ई स्थायी बनाउन काम बाँकी रहेको बताएका छन्।

‘शान्तिलाई स्थायी बनाउन केही काम अहिले पनि बाँकी छ। प्रतिपक्ष र हामीले यसलाई अन्तिम निष्कर्षमा पुर्याउन आवश्यक छ। यसलाई ध्यान दिनुपर्छ’, अध्यक्ष दाहालले भने।

जनताले संघीयताबाट जति अपेक्षा गरेका थिए त्यो हुन नसकेको उनले बताए। ‘हामीले सबै काम गर्यौं भनेर छुट पाउने अवस्था छैन। संविधानको भावनाअनुसार ऐन बनाउने प्रक्रिया अघि बढेको छ। जनताले संघीयताबाट जति अपेक्षा गरेका थिए त्यति भएको छैन।’ संविधानको मर्म र भावनाअनुसार ऐन बनाउने प्रक्रिया अघि बढेको भए पनि समग्रतामा टुंगोमा पुर्याउन बाँकी रहेको उनले बताए।

रेलमार्गको सपना यथार्थमा परिणत हुन लागेको उनले बताए। ‘रेलमार्ग एउटा अनिवार्य आवश्यकता हो। हामीले धेरै वर्षदेखि रेलको कुरा गर्दै आएका छौं तर ठोस रुपमा त्यसलाई साँच्चै समाज र जनताको दैनिक जीवनसँग जोडेर अघि बढाउने योजनाको अभाव थियो’, उनले भने, ‘अहिले पूर्व पश्चिम रेलमार्ग वा काठमाडौंलाई दक्षिण र उत्तरतिबाट जोड्ने प्रक्रियाको काम थालनी भइसकेको छ।’ विकासको फड्को हान्न अब यस किसिमका सपना देख्न थाल्नुपर्ने उनले बताए।

प्रकाशित मिति: : 2019-05-07 12:52:00

प्रतिकृया दिनुहोस्