को होला कास्कीमा रवीन्द्रको उत्तराधिकारी ?

तस्बिरः नयाँ पत्रिका

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचन घोषणा त गरेको छैन । तर, सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा–परिचर्चा सुरु भएको छ । विद्यार्थी राजनीतिबाट स्थापित भएका नेकपाका लोकप्रिय नेता अधिकारी ०६४ को पहिलो संविधानसभा निर्वाचनयता लगातार तीनपटक प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

लगातार चुनाव जितेका अधिकारीले पहिलोपटक संसद्मा लेखा समिति सदस्य, दोस्रोपटक विकास समिति सभापति र तेस्रोपटक मन्त्रीको जिम्मेवारी पूरा गरे । उनको निधनसँगै रिक्त चुनाव क्षेत्रमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्नेबारे अड्कलबाजी हुन थालेका छन् । उनको स्थानमा उठ्ने उम्मेदवारबारे नेकपाले कुनै प्रतिक्रिया दिएको छैन । तर, पोखरामा भने अधिकारीको अन्त्येष्टिसँगै सुरु भएको यो चर्चा दिनप्रतिदिन गर्मराउँदै जाने देखिन्छ । पछिल्लोसमय कांग्रेस सभापति शेरबहादुर देउवाले यो क्षेत्रमा हुने उपनिर्वाचनमा जितेर कांग्रेसले देशव्यापी एकताको सन्देश दिनुपर्ने बताएसँगै यहाँ चुनावको चर्चा थप चुलिएको छ ।

प्रकाशित मिति: : 2019-04-19 09:16:38

प्रतिकृया दिनुहोस्